सामूहिक प्रतिबद्धता लत्याएको भन्दै लोसपामा विद्रोह

जनकपुरधाम – पदीय बाँडबाँडमा विवाद उत्पन्न भएपछि नवगठित लोकतान्त्रिक समाजवादी पार्टीभित्र स्थापना ४ महिना नबित्दै विद्रोह शुरु भएको छ । पार्टीले गरेको जिल्ला तथा प्रदेशको पदाधिकारी चयनको विरोध गर्दै लोसपाका नेता तथा कार्यकर्ताहरु विद्रोहमा उत्रेका हुन् ।

उनीहरुले जनकपुरधाममा एक संयुक्त बैठक गरी सामूहिक निर्णयहरुमा सामूहिक प्रतिबद्धता अघि बढाउने प्रक्रिया लत्याउँदै मनपरी गरी एकलौटी रुपमा जिल्ला तथा प्रदेश पदाधिकारी चयन गरिएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् ।

धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह र प्रदेश–२ अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरिएकामा एकै व्यक्तिलाई दोहोर्याई तेहेर्याई जिम्मेवारी दिई पार्टीको ‘एक व्यक्ति एक पद’ अवधारणा नेतृत्वकर्ताले लत्याएर एकलौटी गरेको भन्ने आरोप बैठकमा लगाइएको छ ।

एकै व्यक्तिलाई पटक–पटक अवसर दिनु नेतृत्व वर्गको निर्णयले नयाँ पार्टीमा काल पलाएको सन्देश रहेको ठहर गर्दै प्रदेश–२ अध्यक्षमा सोनल र धनुषा अध्यक्षमा परमेश्वर साहलाई चयन गरिएको निर्णय अस्वीकार गर्दै त्यसलाई रद्द गरी सामूहिक निर्णयबाट पदाधिकारी चयन गर्न माग बैठकबाट गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी चयनको निर्णय नसच्याए आन्दोलनमा उत्रने चेतावनी बैठकमा सहभागी लोसपाका दुई दर्जनभन्दा बढी नेताहरुले दिएका छन ।

असन्तुष्ट नेता रामजी रायले भने, ‘पार्टीमा ‘एक व्यक्ति एक पद’ अवधारणा लागू गर्ने र कुनै पनि संस्थागत निर्णय गर्दा सामूहिक प्रतिबद्धता अवलम्बन गर्ने नीति तय भएको थियो । तर त्यसलाई लत्याउँदै पदमा बसेका एउटै व्यक्तिलाई पटक पटक जिम्मेवारी दिनु अलोकतान्त्रिक अभ्यास हो ।’

त्यसैगरी रामप्रसाद गिरीले राजनीतिक ज्येष्ठतालाई पाखा लगाउँदै ‘प्रोटोकल’लाई मिच्दै पद बाँडबाँड गरी पार्टीको लोकतान्त्रिक मूल्य मान्यतालाई पार्टी नेतृत्वकर्ता वर्गले लत्याएको आरोप लगाए ।

त्यस्तै सन्जय सिंहले हिजोसम्म पार्टीका जिल्ला कोषाध्यक्षमा बसेका नेतालाई प्रदेश सचिव लगायतका पद दिएर विगतमा नेतृत्व निर्वाह गरिसकेकाहरुको योगदानलाई व्यक्तिगत स्वार्थमा आसेपासेलाई ग्राह्यता दिनु गलत परिपार्टी भएको आरोप लगाए ।

उमेश मण्डलले नेताहरुको दोहोरो चरित्रका कारण पार्टी धराशयी भएको आरोप लगाउँदै नेतामुखी पार्टीले कार्यकर्ता र जनताका समस्या बेवास्ता गर्ने र अन्ततः पार्टी संकटमा पर्ने बताएका छन् ।

उनीहरुले ‘पार्टी नेतृत्व वर्गले आफ्नो निर्णय सच्याएर सामूहिक निर्णयबाट राजनीतिक लगानी, प्रोटोकल र विगतका योगदानको कदर गरी पदीय जिम्मेवारी नदिए आन्दोलनमा उत्रने’ चेतावनी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस