मुसहर विद्यार्थीलाई बहुकक्षाको मार, कक्षाकोठा थप्न चन्दा संकलन

राजविराज। दलित बालबालिकाकालागि सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ मुसहरी टोलमा स्थापित दलित राष्ट्रिय प्राथमिक विद्यालयमा भवन र कक्षाकोठा अभावका कारण एउटै कोठामा बहुकक्षा सञ्चालन गर्ने बाध्यता परेको छ ।

दुई वटै कोठामा ५ वटा कक्षा चलिरहदा बालबालिका मारमा छन् भने भवन र कक्षाकोठा थप गर्ने–गराउनेतर्फ कसैले ध्यान नपुग्दा जग्गा खरिद तथा भवन निर्माण गर्न दलित अगुवाहरुले चन्दा संकलन अभियान थालेका छन् ।

‘दलितका बालबालिकालाई अन्य विद्यालयमा पठ्न नदिएपछि २०६१ सालमा चन्दा संकलन गरेरै विद्यालय स्थापना गरियो’ प्रधानाध्यापक सुजितकुमार ठाकुरले भने–‘विद्यार्थीको संख्या बढ्दै जाँदा पछि कक्षा ४ सम्मै पठ्नपाठन हुँदै आएको थियो तर यावतका समस्याले कक्षा ४ को पठनपाठन भने धेरै समय चल्न सकेन ।’

उनले भवन अभावका कारण केही वर्षअघि कक्षा ४ को पठ्नपाठन स्थगित नै गर्नुपरेको बताए । ‘हाल जम्मा दुईवटा कोठामा बाल विकासदेखि कक्षा ३ सम्मको पठ्नपाठन पनि एउटै कोठामा ३–३ वटासम्म कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेको छ’ उनले भने–‘ बहुकक्षाले बालबालिका मारमा छन नै, भवनको अवस्था पनि जर्ज नै छ । यद्यपी विद्यालयमा भवन थप गर्ने–गराउनेतर्फ कसैको ध्यान पुगेको छैन् ।’

प्रधानाध्यापक ठाकुरले चौतर्फी ताकेदा गर्दा पनि कत्तैबाट कुनै सुनुवाई नभएको गुनासो गरे । ‘बाध्य भएर हामीले भवनको मर्मत सम्भार र थप जग्गा खरिद गर्न चन्दा संकलन अभियान थालेका छौं’ उनले भने–‘यो अभियान सुरु गर्ने विषयमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव जीहरुसँग पनि सरसल्लाह गरेकै हो ।’

अभिभावक घुरन सदाले दलित भएर जन्मिनु नै अभिश्राप रहेको दुखेसो खोप्दै सबैतिर गुहार गर्दा पनि दलित बालबालिका मात्रै अध्ययरत रहेका कारण विद्यालय पनि उपेक्षित हुन पुगेको बताए । ‘पेट काटेर भए पनि विद्यालयको मर्मत सम्भार र कक्षाकोठा थप गर्ने प्रयासमा छौं’ सदाले भने–‘बालबच्चालाई पढ्ने इच्छा छ हजुर, त्यो इच्छा पूरा गर्न हामी हरसम्भव कोशिसमा छौं ।’ उनले अर्थ जुटाउने प्रयासमा सहयोग गर्न सबैमा आग्रह समेत गरे ।

बाल विकासमा ४१, कक्षा १ मा २१, २ मा २४ र ३ मा ३२ गरी कुल ११८ जना विद्यार्थी रहेको सो विद्यालयमा दुई जना बाल विकास सहजकर्ता, एक जना कार्यालय सहयोगी र दुई जना शिक्षक छन् ।

उता, वडाध्यक्ष शिवशंकर पण्डितले पनि विद्यालयको भवन निर्माणमा सहयोग गर्नुपर्नेमा चन्दा संकलन गरेरै भवनको स्तरोन्नत्ति तथा नयाँ भवन निर्माण गर्न सिफारिस नै दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस