राजविराज । गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीका वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई प्रदान गरिएको छ ।
सोमवार वीरगंजमा आयोजना गरिएको ११ औं पुरस्कार वितरण समारोहमा पत्रकार झालाई वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले एक तोलाको सुनको पदक र प्रमाणपत्रबाट सम्मानित गरेका हुन् ।
गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा आयोजना गरिएको सो कार्यक्रममा नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने पत्रकारको सम्मान कार्यले लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले यस प्रदेशका पत्रकारहका लागि जीवन बीमा र पेन्सन दिने तयारीमा लागेको बताए ।
पुरस्कृत पत्रकार झा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विगत तीन दशकभन्दा बढी समयदेखि जनसरोकारका विषयमा कलम चलाउँदै आएका छन् ।