काठमाडौंमा दुई हजार प्रहरी परिचालन, निषेधित क्षेत्र नतोड्न आग्रह

जनकपुरधाम । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ ।

आज विभिन्न राजनीतिक दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले प्रदर्शन गर्न लागेका हुन् ।

माइतीघरबाट संसद् भवनअगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रहरीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने, “निषेधाज्ञा तोड्ने काम नगरौँ । शान्तिपूर्ण रूपमा हुने विरोधमा प्रहरीको हस्तक्षेप हुँदैन । सवारी–साधनमाथि अवरोध हुनु भएन । कानुनविपरीतका काम भएमा प्रहरी कानुनासार अगाडि बढ्छ ।”

Author:



क्याटोगरी छान्‍नुहोस