सप्तरीमा पौने दुई लाख बालबालिकालाई टाईफाइड विरुद्धको खोप लगाइने

राजविराज । सप्तरीमा टाईफाइड रोग विरुद्ध खोप अभियान सुरु भएको छ । शुक्रवार राजविराजस्थित केअ माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साहले खोप अभियान शुभारम्भ गरेका हुन् ।

अभियान शुभारम्भ गर्दै मन्त्री साहले खोप लगाएपछि जीवन रक्षामा सहयोग पुग्ने भन्दै समयमा खोप लगाउन आग्रह गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई १ लाख ८० हजार १४७ जना बालबालिकालाई खोप लागाइने लक्ष्य रहेको जानकारी दिए । उनले टाईफाइडको संक्रमण खतरा सबै उमेर समूहमा रहने गरे पनि १५ वर्ष मुनिका बालबालिकमा करिब ११ गुणा बढी संक्रमण हुनसक्ने सम्भावना रहेकोले सोही उमेरसमूहका लक्षित समूह रहेको बताए ।

जिल्ला खोप समन्वय समितिका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरण अन्तर्गत चैत्र २६ गते देखि ३० सम्म डाक्नेश्वरी, शम्भुनाथ, बोदेबरसाइन, सुरुङ्गा र खडक नगरपालिका र राजगढ, छिन्नमस्ता, विष्णुपुर र वलान विहुल गाउँपालिकामा खोप लगाइने छ । त्यस्तै, दोश्रो चरणमा वैशाख ४ गतेदेखि ८ गतेसम्म कन्चनरुप, राजविराज, हनुमाननगर, सप्तकोशी नगरपालिका र अग्निसाइर कृष्णासवरन, तिरहुत, तिलाठी कोइलाडी, महादेवा र रुपनी गाउँपालिकामा खोप लगाइने छ ।

खोप लगाउनका लागि जिल्लाका १८ वटै स्थानीय तहमा तालिम प्राप्त १८ जना स्वास्थ्य शाखा प्रमुख, १ सय ५९ जना स्वास्थ्य संस्था प्रमुख, २ सय ९१ जना खोपकर्मी, १ हजार ७८ जना स्वंयसेविका र १ हजार १ सय २५ जना शिक्षिका स्वंयसेविका गरी कुल २ हजार ६ सय ७१ जनशक्ति परिचालन गरिने छ ।

खोप अभियान कार्यक्रमपछि आयोजना गरिएको अन्तरक्रियामा पाटन एकेडेमी फर हेल्थ साइन्सका अध्ययन अनुसार प्रति १ लाख जनसंख्यामा १ हजार ६२ जनमा टाइफाइड संक्रमण भएसँगै १५ वर्ष मुनिका प्रति १ लाख जनसंख्यामा १० हजार ९६० जना व्यक्तिलाई टाइफाइड संक्रमण तथ्यांक प्रस्तुत गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस