निर्वाचन नजिकिँदै गर्दा दल परिवर्तन गर्नेको होडबाजी

राजविराज, ६ वैशाख । आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनावी अभियान शुरु भएसँगै राजनीतिक दलहरुबीच अर्को दलका नेता कार्यकर्ता भित्र्याउने होडबाजी चलिरहेको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लामा चुनावको मुखमा पार्टी परिवर्तन गर्ने जनप्रतिनिधिहरुले सिद्धान्त वा विचारको राजनीति त्यागेर अवसरको खोजी गरिरहेको देखिन्छ । यसैबीच, सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव ‘टुटु बाबु’ ले जनता समाजवादी पार्टी नेपाल (जसपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनी मंगलबार कांग्रेसको जिल्ला कार्य समितिको कार्यालयमा आएर कांग्रेस प्रवेश गरेका हुन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जनता समाजवादी पार्टी नेपाल)बाट निर्वाचित भएका थिए ।

जनता समाजवादी पार्टी, मधेश प्रदेश समितिका सदस्यमा रहेका यादवले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट पाउन समस्या देखेपछि कांग्रेसमा प्रवेश गरेको स्थानीय एक नेताले बताए ।

उनका अनुसार कांग्रेसले गाउँपालिका अध्यक्षमा लगभग टिकट दिने निश्चित गरेपछि मात्रै उनी पार्टीमा प्रवेश गरेका हुन् ।

सोही कार्यक्रममा महादेवा गाउँपालिका–३ का वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका–३ का वडाध्यक्ष सुदर्शन सिंहले पनि कांग्रेसमा प्रवेश गरेको जनाएको छ ।

नवप्रवेशीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह, उप–सभापति रामकुमार यादव लगायतले स्वागत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस