किन बढ्दै छ वैवाहिक सम्बन्धविच्छेद ?

देउखुरी, २७ असार । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे । विवाहको एक वर्षपछि छोरीको जन्म भयो ।

छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो । गोकर्णले कल्पनालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शंका गर्ने, छोरीलाई स्याहार नगरेको आरोप लगाउन थाले ।

आफूमाथिको आरोप कल्पनालाई सह्य नभएपछि घरझगडा सुरु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले कल्पना वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्सको दुबई गइन् ।

विदेशमा रहेको श्रीमती बिग्रेको हुन्छ भन्ने शंकाले गोकर्णलाई झनै पि¥यो । कल्पनाको भनाइ छ, ‘विदेशमा भनेजस्तो समयमा छुट्टी मिल्दैन नि, भनेको समयमा फोन उठाएन भने कोसँग कहाँ बसेकी छस् भनेर शंका गरेर गाली दिन थाल्नुभयो ।’

त्यसपछि श्रीमान्ले उजुरी दिएको घटना सम्झँदै कल्पना भन्छिन्, ‘उहाँले मसँग सरसल्लाह नगरी आफूखुसी घर छोडी गएको, ६ वर्षदेखि सम्पर्कमा नआएकाले अब तिमीसँग बस्न सक्दिन भन्नुभएको थियो । त्यही भनेर उजुरी दर्ता गर्नुभएछ ।’

कल्पना विदेशमै रहेका समयमा गोकर्णले सम्बन्धविच्छेद गरिपाऊँ भनी १४ मंसिर २०७८ मा दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गरे । श्रीमान्–श्रीमतीबीच सल्लाह भएर नै आफू विदेश गएको कल्पनाको भनाइ छ ।

विदेशी भूमिमा आफूले परिवारकै लागि पसिना बगाउँदा बगाउँदै पनि श्रीमान्ले आफूमाथि अन्याय गरेको र सम्बन्धविच्छेदको मुद्दा हालेको कल्पनाको भनाइ छ । यसैले झैं–झगडा गरेर रातदिनको किचलो सहनुभन्दा अलग भएर बस्न उत्तम देखेर सम्बन्धविच्छेद गर्न तयार भएको कुरा पनि उनले अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ ।

जिल्ला अदालतले १२ चैत २०७८ मा उनीहरूकी छोरी बाबुसँगै रहने र सम्पत्तिमा कुनै दाबी नगर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा ९३ बमोजिम फैसला सुनायो ।

दाङकै शान्तिनगर गाउँपालिका–५ का २७ वर्षीया मनीषा खत्री र सोही पालिकाकै २८ वर्षीय विकास रावतको सामाजिक परम्पराअनुसार २०६९ सालमा विवाह भयो । विवाह भएको एक वर्षपछि छोरीको जन्म भयो । विकास वैदेशिक रोजगारीका लागि साउदी अरब जाने आउने गर्थे ।

मनीषा सासूससुरासँग घरमै बस्ने गरेकी थिइन् । विकासले आफ्नै साथीलाई मोबाइलमा कुरा गर्न लगाएको मनीषालाई थाहा भएन । त्यसपछि विकासले ‘अबदेखि मैले पैसा पठाउन सक्दैन तैंले आफ्नो बाटो गर’ भन्ने गरेको मनीषाको आरोप छ ।

मनीषा भन्छिन्, ‘फोनमा कुरा गरेको निउ पारेर रातदिन गाली खान सुरु भयो । श्रीमान्ले जिल्ला अदालत दाङमा २०७७ पुस २५ गते सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नुभयो ।’

२०७८ मंसिरमा सम्बन्धविच्छेदको मुद्दा टुंगो लाग्यो । उनीहरूकी आठ वर्षकी छोरी बाबुसँगै रहने र श्रीमान्को सम्पत्ति तीन भाग लगाउने, त्यीमध्येको एक भाग लिएर अलग भएर बस्न तयार रहेको फैसलामा उल्लेख गरिएको छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस