चुरे तराई मधेश संरक्षणः उद्देश्य पूरा नहुँदै १० लाखबढी भुक्तानी (फ्लोअप)

राजविराज, ३ साउन । ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति’ले बजेट सिध्याउन अर्काको कार्यक्षेत्रमा ‘ओभरटेक’ गरेर थालेको तटबन्ध निर्माण कार्य पूरा हुन सकेको छैन् ।

समितिले गत आर्थिक वर्षमा सम्पन्न हुने गरी सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा तटबन्ध निर्माण कार्य सुरु गराएका थिए । गत जेठ १४ गते सम्झौता गरी उपभोक्ता समिति मार्फत थालिएको तटबन्ध निर्माण कार्य ५० प्रतिशत पनि पूरा हुन सकेको छैन् ।

यद्यपी, उपभोक्ता समितिलाई १० लाखभन्दा बढी रुपैयाँ भुक्तानी दिएको पाइएको छ । ‘बजेट सिध्याउने चटारोले एकातर्फ त स्थान छनोटमा मनोमानी गरेको छ नै, अर्कोतर्फ पारदर्शीताको पनि ख्यालै नगरी भएको निर्माणमा काममा पनि भुक्तानी दिईयो’ स्थानीय हरेराम यादवले भने–‘मधेशलाइभले नै समाचार सार्वजनकि गरेपछि असार २८/२९ गतेतिर होडिङ्ग बोर्ड (निर्माणाधिन योजनाको विस्तृत विवरणसहितको पाटी) लगाएको पाइयो ।’

उनले बजेट पूरै सिध्याउने राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र उपभोक्ता समितिको योजना रहे पनि समाचारका कारणले आधा जति मात्रै भुक्तानी भएको आरोप लगाए । ‘कुल २६ लाखबढी बजेटमा सो कार्य हुनुपर्ने थियो, सबै रकम सिध्याउने नै योजना रहे पनि समाचार सार्वजनिक भएपछि मात्रै आधा जति भुक्तानी गरेको बुझियो’ उनले भने–‘यो बजेट पनि अनायासै खर्च भयो, सरकारी उद्देश्य भने पूरा भएन ।’

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको २३ लाख ७८ हजार ८३३ र उपभोक्ता समितिको २ लाख ६४ हजार ३१४ गरी कुल २६ लाख ४३ हजार १४८ रुपैयाँको बजेटमा ८७ मिटरसम्ममा माटोको बाँध, लिचडा, रिभेटमेन्ट र चपरी लगाउनुपर्ने थियो । तर, सो कार्य आधा जति पनि पूरा हुन सकेको छैन् भने खाँडो नदी व्यवस्थापन आयोजनाको कार्यक्षेत्रमा ओभरटेक गरेर गराइएको सो निर्माण कार्यमा आयोजनासँग पनि समन्वय गरिएको छैन् ।

आयोजनाका प्रमुख एकराज भट्टराईले तटबन्ध निर्माण कार्य आफुहरुको मापदण्डअनुसार नभएको पाइए सो बाँधलाई भत्काएर नयाँ बनाउनुपर्ने प्रतिक्रिया दिए । ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले हामीसँग समन्वय गर्नुपर्ने थियो तर हामीलाई साधेपुछ गरेको छैन, सो कार्य रोक्न हामीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुरलाई पत्राचार नै गरिसकेका छौं’ उनले भने–‘यद्यपी काम गराएको बुझियो, हामी जाँच गछौं र हाम्रो मापदण्डअनुसार नभएको पाइए त्यसलाई भत्काएर नयाँ बाँध बनाउँछौं ।’

उता, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वय इकाई, सलकपुर मोरङका प्रमुख राजकुमार गुप्ताले पनि आफुहरुले लिएको उद्देश्य पूरा नभएको स्वीकार गरेका छन् । ‘समय अभाव र वर्षाका कारणले उद्देश्य त पूरा गर्न सकिएन तर फेरी अर्को वर्षमा थप काम गर्न सकिन्छ’ उनले भने–‘भुक्तानीको सन्दर्भमा हामीले भएका कामको मूल्यांकन अनुसार नै १० लाख ३५ हजार जति दियौं, हुन त उपभोक्ता समितिले १७ लाख जतिको काम गरे भनेर भुक्तानी माग गरेका थिए तर हामीले मूल्यांकनअनुसार नै भुक्तानी गर्यौं ।’ उनका अनुसार पनि ५० प्रतिशत मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको हो ।

मधेशलाइभबाट गत असार २७ गते ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षणः बजेट सिध्याउनकै लागि काम !’ शिर्षकमा समाचार सार्वजनिक भएको थियो ।

यो पनिः

राष्ट्रपति चुरे तराई मधेश संरक्षणः बजेट सिध्याउनकै लागि काम !

Author:



क्याटोगरी छान्‍नुहोस