शीर्ष नेताहरू को–कहाँबाट उम्मेदवार ?

जनकपुरधाम – आगामी चुनावका लागि राजनीतिक दलहरूले आइतबार हर्षोल्लासका साथ मनोनयन दर्ता गराएका छन् । यस पटकको निर्वाचनमा सत्ता र प्रतिपक्ष दल छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने सत्तारुढ जनता समाजवादी पार्टीले प्रतिपक्ष दलसँग चुनावी तालमेल गरी चुनावी मैदानमा आएको हो ।

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा सातौ ंपटक चुनावी मैदानमा उत्रिएका छन् ।

केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओली आफैँ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा– ५ बाट निर्वाचित भएका ओली त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए । यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका छन् । नेकपा एमालेसँगको गठबन्धन गरेका यादव २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०६४ र २०७० सालको संविधानसभामा निर्वाचनमा भने उनले सुनसरी–५ बाट निर्वाचित भएका थिए ।

माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट–१ बाट उम्मेदवारी दर्ता गराएका छन् । रौतहटको सदरमुकाम गौरमा पुगेर उम्मेदवारी दर्ता गराएका पूर्वप्रधानमन्त्री नेपाल पनि दशकौं अघिदेखि निरन्तर संसद्मा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस