निर्वाचनको भिडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ : स्वास्थ्य मन्त्रालय

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मंगलबार संचारकर्मीसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रममा भिडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताए ।

उनले देशमा कोभिड संक्रमणदर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको बताए । उनले भिडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए ।

डा. अधिकारीले कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरूलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे । उनले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताए । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उननले बताए ।

डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरू रहेको बताए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाखभन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए ।

उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए । उनले कोभिड १९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको बताए । सर्वसाधारणलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्पर्क गरी कोभिड १९ विरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस