राजविराज –मत पेटिकाको सिल नम्बर फरक पाइएको आशंका गरिएसँगै विवादीत बनेको सप्तरी क्षेत्र नम्बर २ को मतगणना कार्य छलफलपछि पुनः सुरु गरिने भएको छ ।
हाल खोलिसकिएको मत पेटिकाको मतगणना भइरहेको छ । त्यसपछि छलफल गरिने बताइएको छ । मंगलबार साँझ सवा ९ बजेतिर मतगणना कार्य जारी रहँदा मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ ।
पेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टी मधेश प्रदेशका मुख्य सचिव दिनेश यादवले जानकारी दिए । ‘हाम्रा प्रतिनिधिले मत पेटिकाको नम्बर फरक पाएपछि भेरिफाय गर्न पटक पटक आग्रह गरे तर भेरिफाय गर्न नदिई स्टोरतर्फ नै मत पेटिका लगियो’, उनले भने ।
सिल नम्बर मिलाउन दिनुपर्ने माग गर्दै नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी दलआवद्ध नेता कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका थिए भने हाल नेता कार्यकर्ताहरु गणनास्थलमा धर्ना दिइरहेका छन् ।