कोसी अस्पतालको भवन निर्माणका ठेकेदार बेपत्ता !

विराटनगर । कोसी अस्पतालको निर्माणाधीन ४ तले भवनका ठेकेदार सम्पर्कविहीन भएका छन् । ३३ करोड २२ लाख ४८ हजारमा ठेक्का लागेर काम सुरु गरेका ठेकेदार असोजदेखि सम्पर्कविहीन भएका हुन् । ठेकेदार बेपत्ता हुँदा भवन निर्माण अलपत्र परेको छ ।

सम्झौताअनुसार अस्पतालको आईसीयू सर्जिकल कार्डिक न्यूरो एण्ड नेफ्रोलोजी भवनको निर्माण २०८० साल पुस २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । तर, अहिलेसम्म २० प्रतिशत पनि काम नभएको अस्पतालले जनाएको छ । भवन निर्माणको ठेक्का रमण, भूमि र बीआईपीएल जेभीले पाएको छ ।

ठेक्का पाएका कम्पनीहरुमध्ये रमणका पवन महतो, भूमिका अविनाश बोहोरा र बीआईपीएलका भावेश बोहोरा सञ्चालक हुन् । भावेश सञ्चालक भए पनि सो कम्पनीको सबै काम कृष्ण बोहोराले हेर्ने गर्छन् । कृष्ण भावेशका बुवा हुन् ।

उनीहरुमध्ये कोही पनि सम्पर्कमा नरहेको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय विराटनगरका सूचना अधिकारी इन्जिनियर अशोक रामले बताए ।

कोसी अस्पतालको नयाँ भवन निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७१४ रुपैयाँमा टेण्डर खुलाएको थियो ।

टेण्डर खुलाएपछि रमन भूमि, बीआईपीएल जेभीले ३३ करोड २२ लाख ४८ हजार ९११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो । ७ तलाको भवनको इस्टिस्मेट गरिए पनि अहिले ४ तलाको मात्रै ठेक्का सम्झौता भएको छ ।

ठेक्का पाएको कम्पनीहरुले विसं २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेका थिए । त्यस्तै २०७८ असोज २१ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भवन निर्माणको शिलान्यास गरेका थिए ।

शिलान्यासपछि ९ महिनासम्म निर्माणको काम भएको थियो । निर्माण कम्पनीका सञ्चालकहरु गएको असार महिनामा सम्पर्कविहीन भएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । इकाईका सूचना अधिकारी अशोककुमार रामका अनुसार असारबाट ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि कार्यालयले साउन २६ गते पहिलो पटक पत्र काटेको थियो ।

१५ दिनमा उपस्थित हुन पत्र काटेपछि ठेकेदारहरु सम्पर्कमा आए पनि काम नगरेको उनले जानकारी दिए । त्यसपछि कार्यालयले पुनः भदौ १५ गते ठेकेदार कम्पनीलाई पत्र काटेको थियो । दोस्रो पटक पत्र काटेपछि ठेकेदारले असोजमा जमिनमुनिको पिलर उठाउने काम गरेका थिए । डेढ महिनासम्म केही काम गरेपछि पुनः ठेकेदारहरु सम्पर्कमा नरहेको सूचना अधिकारी रामले बताए ।

असोजदेखि ठेकेदार सम्पर्कमा पनि नरहेको र काम पनि नगरेपछि कार्यालयले कार्तिक ४ गते पत्र काटेको थियो । त्यसपछि कार्तिक १८ र २६ गते पत्र काट्दा पनि सम्पर्कमा नआएको उनले बताए । इकाईले अन्तिम पटक मंसिर ११ गते ठेकेदार कम्पनीलाई पत्र काटेको छ ।

पटक–पटक पत्र काटे पनि ठेकेदार सम्पर्कमा आएर काम नगरेपछि मंसिर २५ गते कार्यालयले पत्रिकामार्फत काममा आउन सूचना निकालेको छ । सूचना अधिकारी रामले भने सम्पर्कमा आएर काम नगरेकाले कारबाहीको प्रक्रियामा आफूहरु लागेको बताए ।

‘ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा अस्पताल निर्माण अलपत्र परेको छ’, उनले भने, ‘अब हामी प्रक्रियामा गएर ठेक्का रद्द गर्नेछौं । अहिलेसम्म जेभीले ५ करोड ६९ लाख ४४ हजार रुपैयाँ लगेको छ ।’

टेन्डर आह्वान गरेकोभन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेबीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरुको भनाइ छ । निर्माण कम्पनी भूमिका सञ्चालक अविनाश बोहोराले भवन निर्माणमा आफ्नो कम्पनीको कुनै सम्लग्नता नरहेको बताए । उनले सो भवनको काम निर्माण कम्पनी रमणको नेतृत्वमा बीआर्इपीएलले गरिरहेको बताए ।

तर बीआईपीएलका सञ्चालक कृष्ण बोहरासँग बारम्बार प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

कस्तो बन्नेछ नयाँ भवन ?

चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । भवनको अन्डरग्राउण्डमा पार्किङ हुने डिजाइनमा उल्लेख गरिएको छ ।

दोस्रो तलामा एचडीयूसहितको डाइलाइसिसलगायतका सेवा हुनेछ । भवनको तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । उक्त सेवा ५० शय्याको हुनेछ ।

पहिलो चरणमा भवनको पाँच तला बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । मास्टर प्लानअनुसार ७ तलाको बनाउने भवनको लागत इस्टिमेटमा पाँचौं तलामा ५२ शय्याको जनरल वार्ड र छैटौं तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने कोसी अस्पतालको मेसु लक्ष्मीनारायण यादवले बताए ।

हाल ३५० शय्याको अस्पताल रहेको कोसीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शय्या पुर्‍याउने कोसी अस्पतालका मेसु यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस