पत्रकारलाई धम्की दिईनु प्रेस स्वतन्त्रतामाथिको ठाढो हस्तक्षेप : आमसञ्चार प्राधिकरण

राजविराज – पत्रकार अवधेशकुमार झालाई ज्यान मार्ने दिएको धम्की प्रति आमसञ्चार प्राधिकरण, मधेश प्रदेशको ध्यानाकर्षण भएको छ ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विहिवार विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिलाई कानूनी दायरा ल्याउन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतले पनि गम्भीरतापूवर्क नलिनु अत्यन्तै दुःखद् रहेको बताएका हुन् ।

‘समाचारको विषयमा चित्त नबुझेमा खण्डन वा कानूनी बाटो अवलम्बन गर्नुपर्नेमा सार्वजनिक रुपमा सामाजिक सञ्जाल मार्फत धम्की दिईनु प्रेस स्वतन्त्रतामाथिको ठाढो हस्तक्षेप हो । उक्त विषयमा पीडित पत्रकार झाका साथै संस्थागत रुपमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले धम्की दिने व्यक्तिलाई पक्राउ गरी कानूनी कार्वाही गर्नका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि गम्भीरतापूवर्क नलिनु अत्यन्तै दुःखद् हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘दोषीहरुलाई कार्वाही गर्नका लागि दवाब स्वरुप नेपाल पत्रकार महासंघ शाखा सप्तरीले सङ्घर्षका कार्यक्रम घोषणा गरी चरणवद्ध आन्दोलन उत्रिन बाध्य हुँदा पनि सप्तरी प्रशासनले तदारुकता नदेखाउनुले अत्यन्तै चिन्तित तुल्याएको छ । यसले गर्दा गलत तत्व एवम् प्रवृती हावी हुँदै गईरहेकोले यसतर्फ सम्बन्धित सबै पक्षको अविलम्ब ध्यानाकर्षण हुनु आवश्यक छ ।’

जनताले सु–सूचित हुन पाउने हकलाई जुनसुकै बहानामा जुनसुकै तत्वले धाक धम्की दिई कुण्ठित पार्न खोज्ने व्यक्ति वा समूहलाई अविलम्ब पक्राउ गरी कडा कार्वाही गर्न जोडदार विज्ञप्तिमा माग गर्दै भयमुक्त वातावरणमा पत्रकारहरुलाई पत्रकारिता गर्ने माहोलको सुनिश्चितता गर्न सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत गराइएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको समाचार लेखेका थिए । सोही समाचारलाई लिएर गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आईडीवाट ज्यान मार्ने धम्की दिएका थिए ।

धम्कीपछि महासंघ शाखा सप्तरीले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएका छन् । गत पुस १ गते नेपाल पत्रकार महासंघ शाखा सप्तरले ४८ घण्टे अल्मिटेम पछि गत सोमवार महासंघले पहिलो चरण अन्तर्गत गत सोमवारैदेखि पुस १२ गतेसम्म आन्दोलनरत छन् ।

आन्दोलनअनुसार पुस ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार, पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने र पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी–प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा महासंघका सचिव रामनारायण विश्वासले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस