उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।

पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए।

महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जायज नभएको स्पष्ट पारे। उनले भने, ‘निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ। काँग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन अन्यले पनि पाउँदैनन्। यही गठबन्धन भित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्दछ भन्ने पक्षमा हामी थियौँ।

महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको बताए। उनले धेरै विषय सञ्चारमाध्यमबाट जानकारी हुने गरेको उल्लेख गरे।

थापाले आफूले निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताए। आगामी दिनमा नेपाली काँग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्न सक्ने गरी पार्टी पुनः निर्माणको अभियान सुरु गरिने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस