सप्तरीमा भारतीयलाई नागरिकता दिन जनप्रतिनिधिकै सक्रियता

राजविराज – सप्तरीमा जनप्रतिनिधिले नै लेनदेन गरी भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराइदिने गरेको खुलासा भएको छ ।

नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीयमूलका उनका भान्जालाई नियन्त्रणमा लिइएपछि घटना बाहिरिएको हो । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ की फुलियादेवी मुखिया र भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी धीरज मुखिया छन् । धीरज फुलियादेवीका भान्जा हुन् ।

केही वर्षदेखि मामा घरमै रहदै आएका धीरजलाई नागरिकता बनाइदिन गत शुक्रबार फुलियादेवीले वडा कार्यालयको सिफारिस र सर्जमिन सहित ईलाका प्रशासन कार्यालय बोदे बरसाइन पुगेकी थिइन । नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शंका लागेर सोधपुछपछि दुवै जनालाई नियन्त्रणमा लिइएको छ ।

ईलाका प्रशासन कार्यालयका कामु शाखा अधिकृत दिनेशकुमार राउतले सिफारिस बोकेर नागरिकता लिन आएका उनीहरुलाई सोधपुछ गर्दा शंकास्पद पाएपछि कानूनीअनुसार अघि बढेको बताए । ‘हामीलाई शंका लागेर सोधपुछ गरिरहेका थियौं, सोही क्रममा उनीहरु नक्कली आमा छोरा भएको हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट पनि टेलिफोन आयो र हामीले सोधपुछ गर्दा पनि शंकास्पद नै देखिएपछि प्रहरी बोलाएर उहाँलाई पठायौं’ कामु शाखा अधिकृत राउतले भने ।

‘म हुँदाको बेला प्रलोभन आएकै हो’

सो वडाका निर्वतमान वडाध्यक्ष प्रदीप साहले केही वर्षदेखि मामा घरमै बसोवास गर्दै आएका धीरजलाई नागरिकता बनाइदिन यसअघि आफु जनप्रतिनिधि रहदा नै बलजोड हुँदै आएको बताए । ‘उहाँ इण्डियन नै हो, त्यसैले उनीहरु प्रलोभनमा पार्ने प्रयास गरिरहदा पनि म आफ्नो कार्यकालमा सिफारिस दिन तयार भएको थिएन’ निर्वतमान वडाध्यक्ष साहले भने, ‘पछि वडाध्यक्ष लेखेको स्टाम्प र मेरो हस्ताक्षर समेत किर्ते गराइ नागरिकता लिन ईलाका प्रशासन कार्यालय पुगेको थियो । सो बेला मलाई त्यहाँबाट फोन गरेपछि मेरो छाप र हस्ताक्षर होइन भनेर भनेको पनि थिए ।’

त्यतिबेला माइजू र भान्जालाई सम्झाएर कार्यालयबाट घर फर्काइएको उनको कथन छ । ‘अहिले त सिफारिस मात्रै दिएको छैन्, प्रहरी चौकी पातोमा सर्जमिन समेत गराइएको छ’ उनले भने, ‘प्रलोभनमा नपरी भारतीय नागरिकको लागि यी यतिका कार्यहरु हुनैसक्दैन् ।’

श्रीमान वैदेशिक रोजगारको लागि मलेसियामा रहेको फुलियादेवीले भान्जालाई वैदेशिक रोजगारमा पठाउने उद्देश्यले नागरिकता लिन लागेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । ‘पहिले धेरै पटक नागरिकता बनाउने विषयमा विवाद भइसकेपछि अहिले वडाध्यक्षलाई डेढ लाख रुपैयाँ दिएर अनि सर्जमिनदेखि सिफारिससम्म गराएको हो’ उनले भने, ‘सर्जमिनका लागि वडाध्यक्षले ४ जना स्थानीयदेखि प्रहरीलाई पनि मिलाइएको छ ।’

वडा कार्यालयका तथ्यांकअनुसार व्यक्तिगत घटना दर्ता सम्बन्धित वडामा टोली आएको बेला २०५९ भदौ २१ गते जन्ममिति राखेर २०७७ चैत १३ गते भारतीयमूलका धीरजलाई जन्मदर्ता दिइएको छ । तर, यसअघिका वडाध्यक्षले नागरिकता सिफारिस गर्न नमान्दा उनको नागरिकता बन्न नसकेको स्थानीयले बताए ।

वडाध्यक्ष भागेश्वर यादवले धीरज भारतीय नागरिक रहेको कुरा आफुहरुलाई जानकारी नरहेकाले सिफारिस र सर्जमिन दिएको बताए । ‘सर्जमिन र सिफारिस गर्दाको बेला धीरज भारतीय हो भन्ने कुरा मलाई थाहा थिएन’ उनले भन्नुभयो, ‘पैसा लिएको प्रमानित भए कानून अनुसार भोग्न तयार छु, मैले कसैसँग पनि पैसा लिएको छैन् ।’

उता, प्रमख जिल्ला अधिकारी भूपेन्द्र थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको बताए । ‘जनप्रतिनिधि वा प्रहरी नै किन नहोस् गलत विवरण राखेर सिफारिस गर्नेलाई सरकारी कागजात किर्ते मुद्दा अन्तर्गत कारवाही हुन्छ’ उनले भने । नेपाल समाचारपत्रमा सप्तरीबाट विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस