पत्रकार झालाई धम्की दिने नसरुलले मागे माफी

राजविराज – सामाजिक सञ्जालमार्फत पत्रकार अवधेशकुमार झालाई ज्यान मार्ने धम्की दिने नसरुल राजाले माफी मागेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् सप्तरी शाखाका सदस्य समेत रहेका कान्तिपुरकर्मी झाले केही समयअघि राजविराज नगरपालिकाको कार्यालयमा देखिएको बेतिथि विरुद्ध समाचार लेखेका थिए । सोही समाचारलाई लिएर स्थानीय नसरुलले ‘फेसबुक’मा ज्यान मार्ने धम्कीसहितको पोष्ट गरेसँगै महासंघ शाखा सप्तरीले आन्दोलन सुरु गरेको थियो ।

सोही क्रममा मंगलवार नै जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपी नसरुललाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको अवस्थामा स्थानीय अगुवाहरुबाट एक पटककालागि माफी दिने महासंघसित गरेको आग्रहअनुसार छलफल आयोजना भएको हो ।

छलफलको क्रममा आफूले फेसबुकमा लेख्दा पनि यस्तो कानूनी कारबाही हुनसक्छ भनी ज्ञान नभएको र आईन्दा पत्रकारको सम्बन्धमा यस्तो नलेख्ने भनि आरोपी नसरुलले माफी माग्दै कागजी कानूनी प्रक्रिया पूरा गरेपछि सहमतीमै उनलाई रिहा गरिएको महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए ।

सो छलफलमा नसरुलको तर्फबाट अधिवक्ता मोहम्मद समिम र नेपाल पत्रकार महासंघबाट अध्यक्ष देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार झा, सचिव रामनारायण विश्वास, कार्यसमिति सदस्य विद्यानन्द राम, पत्रकार वृजमान तामाङ सहितका सहभागी थियो भने प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले र डीएसपी नरेश सिंहको उपस्थिती थियो ।

सहमतीसँगै महासंघ शाखा सप्तरीले थालेको आन्दोलनको कार्यक्रम पनि फिर्ता लिएको महासंघले जनाएको छ । साथै आन्दोलनमा सहयोग गर्नु हुने सम्पूर्ण पत्रकार, प्रमुख जिल्ला अधिकारी, सप्तरीका प्रहरी प्रमुखसहित सबैमा धन्यवाद् दिँदै आगामी दिनमा पनि पत्रकारले लेखेको समाचारको विषयमा कसैलाई कुनै आपत्ती भए पत्रकारमाथि ‘गालीग्लौज गर्ने’, ‘धम्की दिने’ जस्ता अपराधिक बाटो नरोजी कानूनी बाटो रोज्न पनि आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस