मधेश प्रदेशका १ सय ५० महिला पत्रकारलाई बीमा (सूचीसहित)

जनकपुरधाम, १३ पुस । मधेश प्रदेश सरकारले प्रदेशका जिल्लाहरुमा कार्यरत एक सय पचास महिला पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमा गरेको छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासंघको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापा लगायतका सञ्चारमाध्यमहरुमा कार्यरत महिला पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा गरेको हो । गत २०७९ असारमा बीमा भएका महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बीमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।

उनका अनुसार जिटुजी पोलिसी अन्तर्गत नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमेटडसँग सम्झौता गरी बीमा वापत लाग्ने प्रिमियम वापतको सम्पूर्ण रकम आमसञ्चार प्राधिकरणले उपलब्ध गराएको छ । बीमा कार्यक्रममा समावेश भएका पत्रकारले वर्षमा रु एक लाखसम्मको औषधी उपचार खर्च र सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने छन् । बिमित महिला पत्रकारहरुलाई उक्त सुविधा लिन प्राधिकरणका अध्यक्ष यादवले आग्रह गरेका छन् ।

श्यामसुन्दर यादव, अध्यक्ष–आमसञ्चार प्राधिकरण मधेस प्रदेश ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशले पर्साको वीरगञ्जबाट प्रेस प्रतिनिधि परिचयपत्र वितरण कार्य समेत शुरु गरिने प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्ने पत्रकारहरुको स्वतः स्वास्थ्य र दुर्घटना बीमा प्राधिकरणले गर्नेछन् । प्रेस प्रतिनिधि प्रमाण–पत्र प्राप्त गर्न मधेश प्रदेश अन्तर्गतको जिल्लामा कम्तीमा दुई वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएको हुनुपर्ने प्रावधान राखिएको छ । यस अतिरिक्त प्रेस प्रतिनिधि प्रेस प्रतिनिधि प्रमाण–पत्रका लागि पत्रकारले कार्यरत सञ्चारमाध्यमको नियुक्तिपत्र, सम्बन्धित सञ्चारमाध्यमको अद्यावधिक गराएको कागजात, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, नागरिकता प्रमाणपत्रलगायतको कागजात पेश गर्नुपर्ने छ ।

मधेश प्रदेश सरकारको २०७९ असार १६ गते बसेको मन्त्री परिषद्बाट मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि २०७९ पारित गरेको थियो । सोही बमोजिम आमसञ्चार प्राधिकरणले पहिलो चरणमा महिला पत्रकारहरुको बीमा गरेको थियो । प्राधिकरणले चालु आ.व.मा मधेश प्रदेशका कार्यरत सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा गर्ने लक्ष्य लिएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस