मन्दिर निर्माणमा पनि रकम हिनामिना, छ जनामाथि मुद्दा दर्ता

जनकपुरधाम – निर्माणाधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिवार उनीहरुमाथि मुद्दा दर्ता गरेको हो । वडा नम्वर ८ स्थित निर्माणाधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनयप्रसाद यादव, सब इन्जिनियर उमेशकुमार दासमाथि आरोप छ ।

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीमाथि दर्ता गरिएको आरोप पत्रमा रामजानकी मन्दिर निर्माणमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मुल्याङ्ककन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्ककन गराई भुक्तानी र कार्य सम्झौता विपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार आठ सय ४० रुपैयाँ बढी भुक्तानी लिएको उल्लेख छ ।

उनीहरूलाई कानुन बमोजिमको कैद र जरिवानाको सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै जनाएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस