जनकपुरधाम – धनुषाको शहीदनगर नगरपालिकाका निवर्तमान मेयर, उपमेयरसहित १२ जनामाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सडक निर्माणमा रकम हिनामिना गरेको आरोपमा सोमवार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।
आर्थिक वर्ष ०७४/७५ मा नगरपालिकाले वडा नम्बर ८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको कामभन्दा बढी रकम निकासा गरेको पाइएपछि अख्तियारले मुद्दा दर्ता गरेको हो । अख्यितारका अनुसार उपभोक्ता समितिमार्फत गराइएको काममा २ लाख १२ हजार ८१६ रुपैयाँ हिनामिना भएको छ ।
निवर्तमान मेयर उदयकुमार बरबरिया, उपमेयर शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियामाथि सो रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना समेत माग दाबी गरिएको छ ।
त्यस्तै, इन्जिनियर सञ्जय यादव र वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत तथा योजना शाखा प्रमुख विन्देश्वर यादव, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदेव यादवविरुद्ध पनि बिगो, कैद र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ ।