नेपाली नागरिकता लिने १० भारतीय सार्वजनिक

काठमाडौं । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै आएका भारतीय नागरिक नेपाल प्रवेश गरेर नेपाल सरकारले विभिन्न समयमा घुम्ती शिविरमार्फत नेपाली नागरिकलाई नागरिकता वितरण गरेको समयमा उनीहरूले नेपाली नागरिकता लिन सफल भएका थिए ।

सो समूहले स्थलगत रूपमा वितरण गरिएको नागरिकता टोलीलाई नक्कली कागज पेस गरी उनीहरूले बारा, पर्सा, सिरहा, रूपन्देहीलगायतका जिल्लाबाट नागरिकता लिएको प्रहरीले जानकारी दिएको छ । तराईका जिल्लाबाट नागरिकता लिएर राजधानीमा उनीहरू बस्दै आएको सूचनाको आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको पनि उपत्यका अपराध अनुसन्धान शाखाले जनाएको छ ।

भारतीय नागरिक भरतप्रसाद गुप्ताले सिरहाको मिर्चैया नगरपालिका–२ बस्ने शंकरप्रसाद गुप्ताको छोराको नामबाट जन्मको आधारमा नागरिकता लिएको पनि महाशाखले जनाएको छ । २०२५ वैशाख १९ गते जन्मको आधारमा २०६३ साल चैत १७ गते नेपाली नागरिकता गुप्ताले लिएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्का भारतीय नागरिक राहुल गुप्ताले मिर्चैया–२ बस्ने भरतप्रसाद गुप्ताको छोरा बनेर वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ । २०४९ माघ १ गते जन्ममितिका आधारमा राहुलले २०७० वैशाख २९ गते नागरिकता लिनुका साथै सोही नागरिकताको आधारमा नेपाली राहदानीसमेत लिन सफल भएको पनि प्रहरीले जानकारी दिएको छ ।

भरत र राहुल नातामा बाबुछोरा हुन् । पक्राउ परेकी अर्की भारतीय नागरिक ज्ञानमतिदेवी गुप्ताले २०६८ असार ९ गते भरतप्रसाद गुप्ताको श्रीमती भएको भन्दै वैवाहिक अंगीकृत नेपाली नागरिकता लिन सफल भएको प्रहरीले जानकारी दिएको छ । उनीहरू एउटै परिवारका हुन् ।

त्यस्तै, अर्का भारतीय नागरिक भरत गुप्ताले २०६३ फागुन ७ गते जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिएको पनि महाशाखाले जनाएको छ । पक्राउ परेकी स्नेहलता गुप्ताले बाराको निजगढ नगरपालिका–८ बस्ने रामेश्वर गुप्ताकी छोरी भरत गुप्ताको श्रीमतीको नाममा २०६९ पुस ११ गते वंशजको आधारमा नेपाली नागरिकता लिएको पनि अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले रूपन्देहीबाट नेपाली नागरिकता लिएका अर्का भारतीय नागरिक गोपालप्रसाद गुप्ता रहेका छन् । उनले २०६३ फागुन १९ गते नेपाली नागरिकता लिएको प्रहरीले जानकारी दिएको छ । अर्का भारतीय नागरिक राजेशप्रसाद गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिका–बस्ने दिनेशप्रसाद गुप्ताको छोराको नाममा नेपाली नागरिकता लिएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ ।

राजेशकी श्रीमती मीनादेवी गुप्ताले श्रीमान्को नागरिकताको आधारमा रामानन्द साहकी छोरी राजेशको श्रीमतीको नाममा २०६९ पुस ११ गते वंशजको आधारमा नागरिकता लिएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी र्दिए । भारतीय नागरिक रामप्रवेश गुप्ताले रूपन्देहीको फरेना गाउँपालिका–२ बस्ने मोहन गुप्ताको छोराको नाममा २०६३ फागुन २१ गते नागरिकताको घुम्ती टोलीसँग वंशजको आधारमा नेपाली नागरिकता लिएको पनि उनले जानकारी दिए ।

त्यसै गरी अर्का भारतीय नागरिक रामसुन्दर गुप्ताले वीरगन्ज महानगरपालिका–२ मोहन गुप्ताको छोराको नामबाट नेपाली नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ । उनले २०६३ चैत १५ गते जिल्ला प्रशासन कार्यालय बाराबाट नेपाली नागरिता लिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये भरतप्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमतिदेवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, काठमाडौंमा बसाइसराइँ भएको प्रमाण पत्र, नेपालस्थित भारतीय दूतावास भारतीय नागरिक भएको सिफारिस पत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायतका कागजातहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी पक्राउ परेका सबैले काठमाडौंका विभिन्न स्थानमा मिठाइ पसल सञ्चालन गरेको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस