अत्यधिक गर्मीले जनजीवन कष्टकर, सप्तरीका दुई स्थानीय तहमा विद्यालय बन्द

राजविराज – केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ । गर्मीले सबैभन्दा असर विद्यालयहरुमा पर्न थालेकोले राजविराज र कञ्चनरुप नगरपालिकाले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै आजदेखि विद्यालय बन्द गरिएको जानकारी दिए।

त्यस्तै, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखि असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजिवकुमार मिश्रले बताए। एक सातायता मधेश प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ।

एक हप्तादेखि बिहान ६ बजेदेखि नै अत्याधिक तापक्रम बढ्ने गरेको छ । बिहानै ३० डिग्री सेल्सिय तथा १२ बजेसम्म ३५ हुँदै ३ बजे ४१ डिग्रि तापक्रम हुने गरेको छ । गर्मीले सर्वसाधारण अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन छाडेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस