ग्लोबल आइएमई बैंक प्रकरण : सवा करोडको ‘स्टक’ गायब गरेको खुलासा 

राजविराज – ग्लोबल आइएमई बैंक शाखा राजविराजका म्यानेजर मोहनकुमार साहले प्रहरीको सूचीमा फरार रहेकासँग ‘मदिरा पार्टी’ गरेको अघिल्लै दिन सवाँ करोड रुपैयाँको ‘स्टक’ को समान गायब भएको खुलासा भएको छ ।

गत माघ २२ गते एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका फरार आरोपित मो।समसाद ग्लोबल आइएमई बैंकका पनि ऋणी हुन् । नेपाल समाचारपत्रले सो ‘स्क्याम’ खुलासा गरेपछि गत वैशाखको दोस्रो साता मो.समसादसहितका एक दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी भएको हो ।

पक्राउ पुर्जीसँगै मो.समसाद फरार भएपछि गत माघ २३ गते नै बैंकमा धिँतो रहेको राजविराज नगरपालिका–४ स्थित उनको मोबाइल पसल र सोही वडास्थित ‘स्टक’ मा रहेको समान रेखदेख गर्न तत्कालिन ग्लोबल आइएमई बैंकका म्यानेजर मनिष महासेठले सुरक्षा गार्ड खटाएका थिए । त्यसपछि गत वैशाख ४ गते सरुवा भई ६ गते बैंकमा उपस्थित भएका म्यानेजर साहले जेठ १४ गते आइतवार साँझ राजविराज नगरपालिका–८ रुपनी सडकस्थित एक होटेलमा मो.समसादसँग मदिरा पार्टी गरेको पाइएको थियो ।

त्यसको अघिल्लै दिन शनिवार दिउँसो मो.समसादले ‘स्टक’मा रहेको सवाँ करोड रुपैयाँ बराबरको मोबाइलसहितका समान गायब गरेको श्रोतले जानकारी दियो । ‘चार महिनादेखि निरन्तर बैंकबाट खटाइएको गार्डले स्टोकको रेखदेख गर्दै आएको थियो तर त्यो दिन दिउँसै मो.समसादले दुई वटा बोरामा भरेर मोबाइल लगिरहदा त्यहाँ गार्ड नदेखिनुले बैंकको मिलोमतो स्पष्ट बुझिन्छ’ श्रोतले भन्यो, ‘सो बेला म्यानेजर साहको दुई वटै मोबाइल पनि बन्द थियो र भोली पल्ट प्रहरीको फरार सूचीमा रहेका मो.समसादसँग म्यानेजर साहले मदिरा पार्टी गरेको रैंछ ।’

म्यानेजर साह र मो.समसादको योजनाअनुसार नै मोटो रकमको चलखेल पछि ‘स्टोक’को समान गायब भएको श्रोतको दावी छ । ‘स्टोक’ मा रहेको समान गायब भएपछि मात्रै जेठ १७ गते बुधवार बैंकले ‘स्टोक’मा बाँकी रहेका समानहरु जफत गरेको थियो ।

मो.समसादले सो बैंकमा ३ वर्षअघि नै ३ करोड २० लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋणको हाल ३५ लाख रुपैयाँ ब्याज तिर्न पनि बाँकी रहेको श्रोतको भनाई छ । ‘उता (एनआईसी एसिया बैंक)को स्क्याम बाहिरिएसँगै मो।समसादले राजविराजमा विभिन्न व्यक्ति र बैंकबाट लिएको ऋण फछ्र्यौट गर्न सकेन, व्यक्ति र बैंकको तनावका कारण उनी बाहिरै बस्ने योजनाअनुसार पैसाको लेनदेन गरी ‘स्टोक’को समान गायब गरे’, श्रोतले भन्यो ।

यता, म्यानेजर साहले ‘स्टोक’बाट समान निकालेको कुरा आफुलाई पछि मात्रै जानकारीमा आएको प्रतिक्रिया दिए ।

‘त्यतिबेला पार्टी गरेकै छैन्, भेट मात्रै भएको हो तर ‘स्टक’को समान निकालेको विषयमा मलाई जानकारी थिएन, पछि मात्रै त्यो विषयमा जानकारी पाएसँगै बाँकी रहेको ‘स्टक’ जफत गरेर प्रादेशिक कार्यालय पठाएका छौं’ दिउँसै समान निकालिरहदा ती समान सुरक्षित गर्न तपाईहरुले खटानुभएको गार्डले किन रोकेन त ? भन्ने प्रश्नमा साहले भने, ‘ऋणीको पसल र ‘स्टोक’ फरक–फरक ठाउँमा रहेकोले गार्ड पसलतिर भएको बेला समान निकालेको हुनसक्छ तर त्यसमा आफ्नो कुनै किसिमले मिलोमतो छैन् ।’

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले फरार आरोपीहरुको खोजी कार्य भइरहेको बताए । ‘उनीहरुमाथि सरकारी कागजात किर्ते मुद्दा दायर भएपछि पक्राउ पुर्जी जारी हो, आरोपितहरुको खोजी कार्य भइरहेको छ’ उनले भने । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ । 

Author:



क्याटोगरी छान्‍नुहोस