विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश पनि निलम्बित

राजविराज — घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव पनि पदबाट निलम्बित भएका छन् । आयोगले भदौ ६ गते नियन्त्रणमा लिएका अध्यक्ष यादवमाथि विशेष अदालतबाट म्याद थप गराई थुनामा राखेको हो ।

आयोगले गाउँपालिका कार्यालयमा पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी समेत गराइएको छ । आयोगले पत्राचार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी गराएको हो ।

घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ अख्तियारले नियन्त्रणमा लिएको थियो । गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर बिरेन्द्रकुमार यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।

सो प्रकरणमा अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ । विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशकुमार यादव अख्तियारको कारबाहीमा परी निलम्बन हुने सप्तरीका तेश्रो पालिका प्रमुख हुन् ।

यसअघि राजविराजस्थित राजरंगशालाको निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण कम्पनीको संचालकको हैसियतमा अख्तियारले राजविराज नगरपालिकाका निर्वाचित नगरप्रमुख भिमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भिमराज निलम्बित भएका थिए । गत साउन ३२ गते विशेष अदालतले भिमराजमाथि आरोप आंशिक ठहर गर्दै जरिवाना समेत गरेको छ ।

यस्तै घुस सम्बन्धी एक अर्को प्रकरणमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता पनि निलम्बित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780