धार्मिक सद्भाव कायम राख्न २४ धार्मिक सङ्घसंस्थाको अपिल

काठमाडौँ – धार्मिक संघसंस्थाहरुले धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नका लागि संयुक्त अपिल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको धार्मिक सद्भाव कायम गर्नेसम्बन्धी छलफल कार्यक्रमपछि विभिन्न धार्मिक सङ्घसंस्थाले धार्मिक सद्भाव कायम गर्ने सम्बन्धी संयुक्त अपिल गरेका हुन् ।

हिन्दु महासंघ, हिन्दु परिषद्, बौद्ध महासंघ, तामाङ बौद्ध सेवा समाज, इस्लामी संघ, मुस्लीम महासंघ, क्रिश्चियन महासंघ, इशाई मण्डली एकता परिषदलगायत २४ धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरुले संयुक्त अपिलमा हस्ताक्षर गरेका छन् ।

अपिलमा विगत केही दिनयता देशका विभिन्न भागमा धर्म, जाती सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा, द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधि भइरहेको र कतिपय ठाँउमा अराजक रुपमा प्रस्तुत भइ फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार प्रचलनमा आघात पुराउने गतिविधि देखा परेका सम्बन्धमा गम्भीर ध्याकर्षण भएको उल्लेख छ ।

उनीहरुले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापहरुमा कोही पनि जान अञ्जानमा सहभागी नहुने र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवद्र्धन गर्न क्रियाशिल रहन आह्वान समेत गरेका छन् । त्यसअघि छलफल कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले मुलुकको रक्षा र एकतालाई सुदृढ गर्न धामिर्क सांस्कृतिक सहिष्णुतालाई बलियो बनाउनु आवश्यक रहेको बताए। धार्मिक संस्थाहरु एक अर्काविरुद्ध प्रतिष्पर्धा उत्रनु उचित नभएको भन्दै उनले देशको मौलिक पहिचान र विशेषताको रक्षा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस