वीरगन्ज (पर्सा)। वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।
महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहरफ्याल्नेलाई जरिवाना गर्दै आएको मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुर सम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ ।
गत आव २०७९/८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको थियो ।