कठौनामा कीर्ते गरी जग्गा किनबेच भइरहेको खुलासा (फलोअप)

राजविराज, २१ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारको जग्गा कीर्ते सिफारिसका आधारमा किनबेच भइरहेको खुलासा भएको छ ।

‘मधेशलाईभ’लाई प्राप्त प्रमाणअनुसार जनप्रतिनिधि र कर्मचारीकै मिलोमतोमा कीर्ते सिफारिस हुँदै आएको पाइएपछि सो विषय बाहिरिएको हो । वडा कार्यालयबाट ०७७ माघ १५ गते चलानी नम्बर ४४४ र ४४५ मा साविक मोहनपुर गाविस–७ बस्ने इन्द्रनारायण चौधरीलाई जग्गाको मल्यांकन र घर बाटो प्रमाणित गरेको सिफारिस जारी भएको थियो । सो सिफारिसअनुसार नै चौधरीको नाममा रहेको साविक मोहनपुर गाविस–५(ख) को कित्ता नम्वर ९४८ को २ कठ्ठा साढे १४ धुर जग्गा विक्री भएको पाइएको छ ।

पूर्व पश्चिम राजमार्गसँगै दक्षिणतर्फ रहेको उक्त जग्गा ५१ लाख ८१ हजार रुपैयाँ (थैलीअनुसार) तिरेर सिरहाको खरुकयाही–१ बस्ने मोहित मण्डलकी पत्नी गंगाकुमारी मण्डलले खरिद गरेको भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा रहेको राजीनामा लेखतमा उल्लेख छ । तर, प्राप्त प्रमाणअनुसार सो दुवै सिफारिस नै किर्ते रहेको खुल्न आएको हो ।

वडा कार्यालयकै चलानी दर्ता कितावअनुसार चलानी नम्वर ४४४ मा महिनारायण चौधरीलाई सिफारिस र ४४५ मा गंगाराम ठाकुरलाई जन्म बसोवासको सिफारिस जारी भएको उल्लेख रहेको छ ।

स्थानीय प्रेमकुमार गुप्ताले वडा र नगरपालिका कार्यालयबाट आर्थिक चलखेल गरेर वर्षौदेखि पक्कीघर बनाएर बसोबास गर्दै आएका बजारवासीलाई उठीवास गराउन षड्यन्त्र हुँदै आएको दावी गरे । ‘आर्थिक प्रलोभनमा परेरका वडा कार्यालयका कर्मचारी नै यस कार्यमा बढी सक्रिय छन्’ उनले भने, ‘बजारको जग्गा विक्री गराउन वडाबाट सिफारिस नै किर्तेसम्म हुनुले आर्थिक चलखेल भएको विषय स्पष्ट हुन्छ, नभई अहिलेसम्म किर्ते गर्नेलाई कारवाही खोई त ?’

उनकाअनुसार यस्ता ८२ वटा विटौरी प्लटमध्ये किर्ते गरेर केही प्लटको लालपूर्जा नै कायम भइसकेको छ ।

यता, श्रोतले सो जग्गाको ५१ लाख ८१ हजार रुपैयाँ थैली रकम राखिए पनि वास्तविकमा १ करोड ३० लाख रुपैयाँमा विक्री भएको बताए । ‘वडा सचिव भावना पौडेलले आर्थिक चलखेल गरेर सो जग्गाको कीर्ते सिफारिस दिएको छ’ उनले भन्यो ।

निवर्तमान वडाध्यक्ष मो.याकुब राइनले पनि कर्मचारीको बदमासीले किर्ते सिफारिस भएको हुनसक्ने स्वीकार गरे । ‘त्यतिबेला म कामले काठमाडौं गएका थिए र जनतालाई समस्या नहोस् उद्देश्यले दुई वटा लेटरप्याडमा हस्ताक्षर गरेर वडा कार्यालयमा छाडेका थिए’ उनले भने, ‘वडाका कर्मचारीले चलखेल गरेको हो की ? तर म बजारकै हकमा लडिरहेको छु र लड्नेछु पनि, अन्य कुरा वडाका कर्मचारीलाई नै जानकारी होला ।’

वडाध्यक्ष सतेन्द्रप्रसाद चौधरीले वडा सचिव भावना पौडेलको सल्लाहअनुसार विटौरी कर रसिद काट्न रोकिएको बताए । ‘०२६ सालदेखि विटौरी कर रसिद काट्दै आएको थियो नै तर अदालतबाट पत्र आएको छ भन्दै विटौरी र लालपुर्जा दुवै रोकौं भनि वडा सचिव ज्यूले नै सल्लाह दिनुभयो र हामीले निर्णय गरेर तत्काललाई रोक्यौं’, उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले सो विषयमा आफुलाई जानकारी नरहेको बताए । ‘गलत भएको हो भन्ने गलत गर्नेलाई कानूनअनुसार हुने नै हो’ उनले भने, ‘तर म केही समयअघि मात्रै आएकोले मलाई त्यस विषयमा जानकारी भएन, सम्बन्धित वडाका जनप्रतिनिधि र कर्मचारीसँग बुझ्नुस न ।’

उता वडा कार्यालयका कर्मचारी वडा सचिव भावना पौडेलले बाहिरबाटै त्यो सिफारिस आएको बताए । ‘वडा कार्यालयबाट त्यो सिफारिस जारी भएकै होइन, सरोकारबाला व्यक्तिले नै किर्ते गरेको हुनसक्छ’ उनले भनिन्, ‘त्यसमा कुनै तवरले मेरो संलग्नता छैन् ।’

यसअघि मधेशलाइभले कठौना बजारको जग्गा हडप्न भइरहेको चलखेलबारे समाचार सार्वजनिक गरेको थियो ।

यो पनिः

कठौना बजारको जग्गा हडप्न चलखेल

Author:



क्याटोगरी छान्‍नुहोस