मधेशलाईभ फलोअप : रेलमा यसरी हुन्छ फिल्मी शैलीमा तस्करी (भिडिओ)

जनकपुरधाम, ६ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा फिल्मी शैलीबाट तस्करी हुने गरेको खुलेको छ ।

शनिवार दिउँसो बाँडफाड नमिलेका कारण सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि रेलमा भइरहेको तस्करी धन्दाबारे खुलासा भएको थियो ।

मधेशलाईभलाई प्राप्त भिडिओ क्लिपअनुसार पछाडीको ‘बगी’मा ठुलो मात्रामा कपडा, किरानाका समान तथा कस्मेटिक मालसमानहरु तस्करी हुँदै आएको छ । तस्करहरुले भारतीय बजार जयनगर स्टेशनमा लोड गरेका ती समानहरु चल्दै गरेको रेलबाट अनलोड गर्ने गरेको भिडिओ क्लिपमा स्पष्ट देखिन्छ ।

‘जयनगर स्टेशनमा २–४ जना नेपाली प्रहरी देखिएपनि सरसमानको चेकजाँच भने हुँदैन, कहिलेकाहीँ कुनै–कुनै स्टेशनमा समान्य चेकजाँच हुन्छ तर सर्वसाधारणलाई दुःख दिने बाहेकका काम हुँदैन’ जनकनन्दनी गाउँपालिका बस्ने मोहन यादवले भने, ‘प्रायजसो रेलबाट ओर्लिने बेलामा चेकजाँच गर्ने गरेको देखिन्छ तर प्रहरीले नै दिएको आइडियाअनुसार तस्करहरुले चल्दै गरेको रेलबाट अनलोड गर्छन् ।’

भिडिओः

उनका अनुसार रेल ओहरदोहर भइरहदा दैनिक तीन पटक मालसमान पनि तस्करी हुँदै आएको छ ।प्रहरीले ‘लाइन’ दिएर तस्करहरुसँग मासिक रकम उठाइरहेकोले रेल्वेका कर्मचारीहरुलाई पनि चुप लागेर बस्ने बाध्यता रहेको उनको कथन छ ।

गत शनिवार बाँडफाड नमिल्दा कुर्था–जयनगर रेलखण्ड अन्तर्गत वैदेही स्टेशन/हल्टस्थित  सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेका थिए ।

उता, सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हेडक्वाटर धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले तस्करी शून्य रहेको बताए । ‘तस्करीको कुरा छैन, हामीले तस्करी शून्य पारेका छौं’, उनले भने ।

यो पनिः

कुर्था–जयनगर रेलमा तस्करी : बाँडफाड नमिल्दा सशस्त्र प्रहरीमाथि नै हातपात

Author:



क्याटोगरी छान्‍नुहोस