लोभी पापीले पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न हो : उपेन्द्र

जनकपुरधाम-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजना गरिएको मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले यस्तो बताएका हुन् । सत्ता टिकाउन आफूले जसपा नेपाललाई फुटाएको प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिसहितको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको समयमा अध्यक्ष यादवले २/४ जना लोभी पापीलाई पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न मात्रै रहेको बताए ।

‘निर्दलीय व्यवस्थाबिरुद्ध लडेका कांग्रेस कम्युनिष्ट बिरुद्ध पनि यस्तै षडयन्त्र हुन्थ्यो’ उनले भने, ‘षडयन्त्र गर्नेहरु मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल बिरुद्ध गरिएको षडयन्त्र स्वरुप २/४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो ।’

मधेशको मुद्दा, संघियता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिले देखि नै षडयन्त्र हुँदै आईरहेको र सोही षडयन्त्र स्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपालमाथि मात्रै नभई मधेशमाथि प्रहार गरिएको अध्यक्ष यादवको भनाई छ ।

पार्टीबाट केही लोभीहरु अलग्गिदैमा जसपा नेपाल कमजोर नहुने दावी गर्दै उनले अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पारे । ‘यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थ पूर्ती हुन्छ उतै लाग्छन् होला’ उनले भने, ‘जसरी शरीर स्वस्थ रहनकालागि बिकार निकाल्नु पर्छ र राम्रै बिकार निस्किएर गएका छन्, अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडी बढ्ने छ ।’

उनले मधेशको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए । एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

स्वास्थ्यकर्मी फोरमका कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघिय राज्यमन्त्री दिपक कार्की, जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बालकिशोर यादव, मधेश सरकारका अर्थमन्त्री संजय यादव, खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह सहितको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस