सुरक्षा गार्डको ह’त्या प्रकरणः एक आरोपित समातिए

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयालको ह’त्या घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–५ गंगाजली घर भएका करिव ३० वर्षीय चन्द्रबहादुर सुवेदी रहेका छन् । शनिवार साँझ चितवनबाट पक्राउ परेका सुवेदी सशस्त्र प्रहरीका जवान हुन् । उनी एक वर्षदेखि ‘छुट्टिमा छु’ भन्दै घरमै बसेका थिए ।

जिल्ला प्रहरी कार्यालयका स्रोतले हत्यामा संलग्न एक ब्यक्ति पक्राउ गरेको पुष्टि गरेको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले ह’त्या घटनाको विषयमा छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराइने बताए ।

सोही नगरपालिका–२ सिद्धिपुरका ५६ वर्षीय फुयाँल गत बिहीबार विहान बैंकमै मृत फेला परेका थिए । खुकुरी प्रहार गरी ह’त्या भएको पाइएपछि  लुटपाट गर्ने उद्देश्यले आएकाहरुले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिएसॅंगै धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढ परिसरको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरको सहायताले थप अनुसन्धान अघि बढाइएको थियो ।

उता, बैंकको सीसीटीभी फुटेजमा पनि  राति करिब १२ बजेपछि नकावधारी एक जना ब्यक्ति बैंकभित्र पसेर हत्या गरेको देखिएको थियो । फुयालको लुटेरासँग निकैबेर मुडभेड भएको फुटेजमा देखिएको जनाईएको छ । ह’त्या गरी बैंकबाट चोरी गर्ने प्रयास भने सफल नभएको बैंकले जनाएको छ ।

नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्दै आएका मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस