पाँचौं पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी लगायतका दललेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । ​

यादवले यसअघि चार पटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यसअघि बहुमत सांसदको समर्थन पाउँदै आएका मुख्यमन्त्री यादवलाई यस पटक भने विश्वासको मत पाउने सम्भावना निकै कमजोर देखिएको छ। उनलाई नेपाली काँग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ ।

सो हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र काँग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिन्छ । कुल १ सय ७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ ।

उता, केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारीमा छ । एमालेका सभामुखबाहेक २४, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

यहाँ सरकार गठनका लागि सत्ता गठबन्धनसँग एक सिट अपुग हुन्छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टीका ८ सांसद छन्। तर, मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न सकेको छैन। त्यसैगरी मधेस प्रदेश सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक प्रदेश सांसद छन् । उनीहरूले पनि कता मतदान गर्छन् अझसम्म निर्णय गरेका छैनन् ।

Author:



क्याटोगरी छान्‍नुहोस