राजविराज, २९ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित तस्करी गर्न ‘नो माइन्सल्यान्ड’सम्मै नयाँ सडक बनाएको खुलासा भएपछि नेपाल र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्मिलित टोलीले स्थलगत अनुगमन गरेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्य र सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी कालीदास धौबजी सम्मिलित टोलीले सोमबार स्थलगत अनुगमन गरेका हुन् । बेल्ही नाकादेखि करिब दुई किलोमिटर पूर्वतर्फ टिकुलियाँस्थित २४० नम्बरको सीमा स्तम्भसम्म नयाँ सडक बनाइएको छ । ती सडक हुँदै सीमा स्तम्भसम्म पुगेका उनीहरुले सीमा क्षेत्रमा हुने गरेको गलत क्रियाकलाप रोक्न निर्देशन दिएका छन् ।
अनुगमनपछि प्रतिक्रिया दिँदै नेपाल प्रहरीका डीआईजी आचार्यले उक्त बाटोलाई उच्च निगरानी राख्न निर्देशन दिएको बताए । ‘उठेका विषयबस्तुहरु अब चैं सुन्नु नपरोस् भनेर मैले भनिसकेको छु र सचेत भएर पनि काम गर्न निर्देशन दिएको छु ।’ उनले भने ।
सशस्त्र प्रहरीका डीआईजी धौबजीले संयुक्त रुपमा हामीले उक्त बाटोको अनुगमन गरेको बताउनुभएको छ । ‘त्यो गम्भीर विषय नै हो, तत्कालै टिकुलियामा प्रहरी राखेर निगरानी हुन्छ’ उनले भने, ‘हाम्रो अनुगमनबाट आएका सबै कुराको समिक्षापछि ठोस व्यवस्था गछौं ।’
केही समययता नेपाल र भारतका तस्करहरु मिलेर बनाएको उक्त सडकबाट प्रत्येक राति १२ देखि १५ वटा पिकअप र ट्याक्टरबाट प्रहरीकै ‘सेटिङ’ मा तेस्रो मुलुकको स्याउ, लसुन र लाइटर तथा कपडा, चामल र कस्मेटिक समानहरु तस्करी हुँदै आएको छ । समाचार बाहिरिएपछि केही दिनसम्म उक्त बाटोबाट तस्करी रोकिएपनि अहिले पुनः निर्वाद रुपमा तस्करी हुँदै आएको छ ।
यो पनिः
भारतीय तस्करलाई असई झाको फोन–हरहिसाब गरिहाल्नू, नभए गाडी रोकिन्छ