जनकपुरधाम-मधेश प्रदेश सरकारले आज बलिदानी दिवस मनाइँदैछ।
अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर दिवस मनाउन लागेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।
बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने जनाएको छ ।
मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते यही दिन सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन्।
२०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो।
माघ २ गते शुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेशको ज्यान गएको थियो। यसपछि मधेशभर आन्दोलन भएको थियो।