काठमाडौं, १६ चैत । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले शुक्रबार पूर्वराजा समर्थकहरूद्वारा काठमाडौंको तीनकुने, कोटेश्वर आदि क्षेत्रमा गरिएका तोडफोड, आगजनी र लुटपाटको स्थलगत निरीक्षण गरेका छन्।
गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरूले तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजन कार्यालय, अन्नपूर्ण पोस्ट दैनिक, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) कार्यालय तथा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरे।
निरीक्षणका क्रममा गृहमन्त्री लेखकले भने, “सञ्चारगृहहरूमा भएको आक्रमण निन्दनीय छ र घटनामा संलग्न जो कोही भए पनि उनलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।” उनले लोकतन्त्रको महत्वपूर्ण अंश सञ्चार माध्यमलाई ध्वस्त पार्ने प्रयासको निन्दा गर्दै दोषीहरूमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले भने, “लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा भइरहन्छ। जनताको अभिमतअनुसार सरकार पक्ष र विपक्ष रहन्छ, तर यदि कोही व्यक्ति व्यवस्थाविरुद्ध उद्दण्डता प्रदर्शन गर्छ भने एकताबद्ध भएर विरोध गर्न आवश्यक छ।”