जनमतका निलम्बित नेताहरुको अगुवाइमा शुरु भयो ‘जनसंवाद यात्रा’

रौतहट, २७ असार । जनमत पार्टीका निलम्बित पदाधिकारीहरुको अगुवाइमा रौतहटबाट ‘जनसंवाद यात्रा’ शुक्रवार शुरु गरिएको छ।

निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साह, कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य बिरेन्द्र साह सोनारको अगुवाइमा यात्राको शुभारम्भ गरिएको हो । पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने उद्देश्यका साथ सुरु गरिएको उक्त यात्रामा सयौं स्वराजीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेताहरूले कार्यक्रमलाई परम्परागत शैलीभन्दा फरक नयाँ प्रयोगसहितको लोकतान्त्रिक संवादको थालनीको रूपमा अघि बढाएका छन् । कार्यक्रमको मुख्य आकर्षण भनेको ‘गोलमेच संवाद’ थियो — जहाँ कुनै विशिष्ठ कुर्सी वा माला–अवीरको झन्झट नगरी सबै सहभागीहरू एउटै घेरामा बसेर संवाद गरेका छन् । यसले सङ्गठनमा बराबरी र पारदर्शिताको सन्देश दिएको आयोजकहरूको भनाइ छ ।

कार्यक्रममा “मालाले होइन, मनले स्वागत“, “भाषणले होइन, व्यवहारले पुष्टि“, “लामो होइन, छोटो र मिठो सम्बोधन“ जस्ता नारासमेत प्रस्तुत गरिँदै नयाँ राजनीतिक संस्कारको अभ्यास गरिएको छ । नेताहरूले जनसंवाद यात्रालाई अन्य जिल्लामा समेत विस्तार गर्दै पार्टीभित्रको लोकतन्त्रलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस