कपिल मुनीसँग ऐतिहासिकता जाेडिएकाे कपिलेश्वरनाथ महादेव

मधेशलाइभ डेस्क
धार्मिक तथा सांस्कृतिक दृष्टिले प्राचीन मिथिला क्षेत्रको एक महत्त्वपूर्ण सम्पदा हो जनकपुरधामको वडा नं. १६ मा अवस्थित कपिलेश्वरनाथ महादेव मन्दिर । यो मन्दिर अत्यन्तै प्राचीन एवम् चर्चित रहेको छ । तर विडम्बना, समयको वेगसँगै यो ऐतिहासिक स्थल ओझेलमा परेको छ ।

ऐतिहासिक सन्दर्भ र नामको उत्पत्ति :

स्थानीय जनश्रुति अनुसार, राजा जनकले त्रेता युगमा जनकपुरको चारै कुनामा चारवटा शिवालय स्थापना गरेका थिए—पूर्वमा कपिलेश्वर, पश्चिममा कुलेश्वर, उत्तरमा अर्धनरेश्वर र दक्षिणमा पञ्चवटी । तीमध्ये कपिलेश्वरनाथ महादेव मन्दिर पूर्वमा पर्ने मन्दिर हो । मन्दिरको नाम कपिल मुनिको तपोभूमिसँग जोडिएको मानिन्छ, जसकारण यस मन्दिरमा स्थापना गरिएको शिवलिङ्गलाई ‘कपिलेश्वर’ भनिएको हो ।

 

मन्दिरको संरचना र पुनर्निर्माणको कथा :

सिमरौनगढ शैलीमा निर्मित प्राचीन मन्दिर १९९० सालको भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको थियो । यसपछि लामो समयसम्म जीर्ण अवस्थामा रहेको मन्दिरलाई स्थानीय काँवरिया विष्णुगिरीले पुनर्निर्माणको प्रयास गरे, तर त्यो अधुरै रह्यो। अन्ततः २०३९ सालमा केही स्थानीयको पहल र पुरातत्व विभागको आंशिक सहयोगमा मन्दिरको पुनर्निर्माण भयो र नयाँ शिवलिङ्ग पुनःस्थापना गरियो ।
हाल मन्दिर करिब पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको छ । मुख्य मन्दिरभित्र शिवलिङ्ग प्रतिष्ठित छ भने वरिपरि गणेश, सन्तोषी माता, राम–जानकी, हनुमान लगायतका अन्य देवी–देवताको मूर्तिहरू रहेका छन् । कतिपय मूर्तिहरू शालिग्राम ढुंगाका छन् भने केही संगमरमरका नयाँ मूर्तिहरू हालसालै स्थापना गरिएको बुझिन्छ । हाल मन्दिर तथा परिसरलाई सौन्दर्यीकरण गरिएको छ ।

धार्मिक जीवन र साउने मेला :

साउन महिनाभरि विशेषगरी सोमबारका दिन यहाँ ठूलो सङ्ख्यामा श्रद्धालुहरूको भीड लाग्छ । साउने मेला यो मन्दिरको मुख्य धार्मिक आकर्षण हो, जसमा नेपाल र भारतका हजारौँ भक्तजन कलश यात्रा र जलाभिषेकका लागि यहाँ आउँछन्। गङ्गासागरको जल ल्याएर शिवलिङ्गमा चढाउने चलन अझै कायमै छ । यस्तै, महाशिवरात्रिको अवसरमा समेत यहाँ विशेष पूजा आयोजना हुन्छ ।

हालको अवस्था र संरक्षणको चुनौती :

कपिलेश्वरनाथ मन्दिर स्थानीय समुदायको सहयोगमा सञ्चालन हुँदैआएको छ । मन्दिरको संरक्षण, पूजा–व्यवस्था, मेलाहरू सबै स्थानीय युवा समूह र भक्तजनको चन्दा सहयोगमा सञ्चालन हुँदैआएको छ । प्रदेश सरकार, उपमहानगरपालिकाबाट केहीवर्षयता थोरबहुत सहयोग हुँदैआएको छ । पुरानो मन्दिरबाट हराएका मूर्ति, अभिलेख तथा शिलालेखहरू अझै फेला परेका छैनन् ।

निष्कर्ष :
कपिलेश्वरनाथ महादेव मन्दिर केवल धार्मिक आस्थाको केन्द्र होइन, यो मिथिला मधेशको सांस्कृतिक गाथाको एक जीवित प्रतीक हो । यसको संरक्षण, प्रवद्र्धन र व्यवस्थित व्यवस्थापन अत्यन्तै आवश्यक छ । स्थानीय तह र प्रदेश सरकारको साझेदारी, अनुसन्धान तथा प्रचारप्रसारको माध्यमबाट यस मन्दिरलाई जनकपुरधामको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सकिन्छ । यो मन्दिरलाई जानकी मन्दिरसँगै पर्यटकीय स्थलको रुपमा जोडेर प्रवद्र्धन गर्नु आवश्यक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस