मधेशलाइभ । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ आज औपचारिक रूपमा लोकार्पण गरिएको छ।
नेपाल पत्रकार महासङ्घ बाग्लुङले आयोजना गरेको ‘बागलुङ मिडिया मेला, २०८२’को उद्घाटन समारोहका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कृतिको लोकार्पण गर्नुभयो। कार्यक्रममा पत्रकार, साहित्यकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘जगन्मुक्ति’ कृतिमा लेखक झाले हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने मुस्ताङस्थित मुक्तिनाथदेखि भारतको समुद्री किनारमा अवस्थित जगन्नाथसम्मको यात्रालाई संस्मरणात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ। साहित्यिक उपनाम ‘धर्मेन्द्र विह्वल’बाट परिचित झाले धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई समेट्दै आफ्नो यात्राका अनुभूति पुस्तकमा अभिव्यक्त गर्नुभएको छ।
लेखकका अनुसार मुक्तिनाथबारे मैथिली भाषामा प्रकाशित यो पहिलो कृति हो। उहाँले मैथिली भाषी समुदायलाई मुक्तिनाथको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बुझ्न यस पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय मैथिली भाषी श्रद्धालुहरू मुक्तिनाथ दर्शनका लागि बढ्दो संख्यामा पुग्न थालेको उल्लेख गर्दै उहाँले मिथिला क्षेत्रका प्रत्येक घरमा शालग्राम पूजा गरिने परम्परासँग मुक्तिनाथको गहिरो सम्बन्ध रहेको बताउनुभयो।
१०२ पृष्ठमा समेटिएको यस पुस्तकमा यात्राका क्रममा देखिएका विभिन्न स्थल, संस्कार तथा अनुभवहरूलाई चित्रसहित समावेश गरिएको छ, जसले पाठकलाई प्रत्यक्ष यात्राको अनुभूति दिलाउने प्रयास गरेको छ।
यसअघि पनि लेखक झाका ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्।