चन्द्रकिशोर
अदालतले फैसला सुनाउँछ
जसरी ईश्वरले वाणी झार्यो भन्ने भ्रम सिर्जना गरिन्छ,
तर त्यो फैसला अघि
कति कानहरूमा फुसफुसिएको हुन्छ सत्ता?
मन्त्रालयले निर्णय गर्छ
राष्ट्रको नाममा, जनताको नाममा,
तर फाइलको प्रत्येक पानामा
अदृश्य हस्ताक्षरहरू पनि टाँसिएका हुन्छन्।
चुनाव जित्नेहरू
जनताको प्रतिनिधि भनिन्छन्,
तर मतपेटिकाभित्र हालिएको कागज
कसरी रुपान्तरित हुन्छ सत्तामा
त्यो गणित कहिल्यै सार्वजनिक हुँदैन।
यहाँ
सत्य घोषणा गरिन्छ,
निर्माण हुँदैन।
जो बाहिर ल्याइन्छ,
त्यही “तथ्य” भनिन्छ—
र बाँकी सबै
षड्यन्त्र, अफवाह, देशद्रोह ठहरिन्छ।
भित्ताभित्र थुनिएका कथाहरू
अब कथा होइनन्
ती प्रमाण हुन्
जुन कहिल्यै प्रमाणित हुन दिइँदैन।
आजको नेपाल
एउटा स्थायी कुरुक्षेत्र हो
तर यहाँ न त कृष्ण छन्
न त धर्म स्पष्ट छ,
यहाँ केवल
रणनीतिहरू छन्
र तिनलाई धर्म भनाउने कौशल।
मिथ्या अब झूट होइन,
यो एक प्रणाली हो
जहाँ झूटलाई यति धेरै पटक सजाइन्छ
कि सत्य नै लज्जित हुन्छ।
तिमी सोध्छौ
सत्य के हो?
सत्य त्यो हो
जो प्रसारण हुन्छ,
जो ट्रेन्ड हुन्छ,
जो सत्ताले स्वीकृत गर्छ।
र भ्रम?
भ्रम त्यो हो
जो प्रश्न गर्छ।
यो युद्ध
धर्म र अधर्मको होइन,
यो युद्ध
नियन्त्रण र प्रतिरोधको हो
जहाँ शब्दहरू किनिन्छन्,
विचारहरू भाडामा लगाइन्छन्,
र मौनता
सबैभन्दा सुरक्षित लगानी बन्छ।
नेपाल,
तिमी अब देश होइनौ,
तिमी एउटा कथा हौ
जहाँ लेखक अदृश्य छन्
र पात्रहरू
आफ्नै भूमिकामा अनभिज्ञ।
यो महाभारतभन्दा दुष्कर छ,
किनकि यहाँ
कसैले गीता लेख्दैन
केवल व्याख्या लेखिन्छ
र त्यसलाई अन्तिम सत्य भनिन्छ।
अन्ततः—
जब धुलो बस्छ,
जब नारा थाक्छन्,
जब सत्य फेरि खोजिन्छ
त्यस दिन पनि
हामीले जे पाउँछौं,
त्यो सत्य होइन,
सत्यको स्वीकृत संस्करण मात्र हुनेछ।