विश्वको तापक्रम २ डिग्री सेल्सियसले बढे एक अर्ब मानिस पीडित हुने

द गार्जियन । विश्वव्यापी तापक्रम केवल २ डिग्री सेल्सियस वृद्धि भयो भने एक अर्ब मानिस पीडित हुने एक अध्ययनले देखाएको छ । यूके मेट अफिसले कोप २६ मा प्रस्तुत गरेको अध्ययनले यस्तो देखाएको हो । वैज्ञानिकहरूले त्यो संख्या अहिलेको भन्दा १५ गुणा बढी हुने बताएका छन् ।

कोप २६ को प्रमुख लक्ष्य विश्वव्यापी तापमानलाई १.५ डिग्री सेल्सियसमा कायम राख्ने रहेको छ । तर, कोप २६ मा सहभागी प्रतिनिधिहरूले यो लक्ष्य प्राप्त गर्न धेरै कामहरू गर्नुपर्ने बताएका छन् ।

मेट अफिसले ताप र आद्रता दुवैलाई मिलाउने ‘वेट–बल्ब’ तापक्रम परीक्षण गरेको थियो । यसको तापक्रम एकपटक ३५ डिग्री सेल्सियस पुग्यो भने मानव शरीरले पसिना बगाएर आफैँ चिसो बनाउन सक्दैन । यस्तो अवस्थामा स्वस्थ व्यक्ति शीतल छायामा बस्यो भने पनि ६ घण्टामै मर्छ । मेट अफिस विश्लेषण्ले ३२ डिग्री सेल्सियस वेट–बल्व तापक्रम सीमाको प्रयोग गरेको थियो । यस्ता स्थितिमा तातोपनाबाट हुने थकाइ हटाउन कामदारहरूले नियमित रूपमा एक वर्षमा कम्तीमा १० दिन आराम गर्नैपर्छ ।

यदि, जलवायु आपत्कालको लागि गरिने प्रयासहरू विफल भएमा र तापक्रम ४ डिग्री सेल्सियसले बढे अत्यधिक गर्मीको आघातबाट विश्वको आधा जनसंख्या पीडित हुनेछन् ।

उष्णता विश्वव्यापी तापक्रम वृद्धिको सबैभन्दा स्पष्ट प्रभाव हो र हालैका दशकहरूमा विश्वभरका सहरहरूमा चरम गर्मी तीन गुणा बढेको हालै गरिएको एक अध्ययनले देखाएको छ । सन् २०२० को ग्रीष्म ऋतुमा अमेरिकाको एकचौथाइभन्दा बढी मानिस वाकवाकी र पेट बाउँडिने लक्षणसँगै चरम गर्मीको प्रभावबाट ग्रस्त थिए ।

सन् २०१७ सम्मको दुई दशकमा ‘लु’का कारण विश्वभरि एक लाख ६६ हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यूके सरकारका आधिकारिक जलवायु सल्लाहकारहरूले उसलाई बढ्दो तापको बारेमा विशेष गरी अस्पताल र विद्यालयजस्ता जोखिमयुक्त स्थानहरूमा ‘चिन्ताजनक रूपमा तयार नरहेको’ चेतावनी दिँदै आएका छन् ।

इयूबाट सहायता प्राप्त हेलिक्स परियोजनाअन्तर्गतको सोधबाट मेट अफिस विश्लेषण गरिएको हो, जसले बाढी, वन डढेलो, खडेरी र खाद्य असुरक्षाको जोखिमलाई पनि चित्रित गरेको छ । धेरै थोरै सम्पूर्ण विश्व कम्तीमा एउटा असरबाट प्रभावित छ ।

मेट अफिसका एन्डी विल्टसायरले अहिलेको जलवायु प्रभावहरूमध्ये कुनै एकले भविष्यको भयानक चित्र देखाउने बताए । “तर, अवश्य पनि गम्भीर जलवायु परिवर्तनले धेरै प्रभावहरूतर्फ अघि बढाउनेछ, र हाम्रो नक्साहरूले केही क्षेत्रहरू धेरै कारकहरूबाट प्रभावित हुने देखाउँछन् ।”

ब्राजिल, भारत र इथियोपियालगायत उष्णप्रदेशीय देशहरू अत्यधिक ताप आघातबाट बढी प्रभावित हुनेछन् । ती देशका केही भाग मानव जीवनको लागि उपयुक्त नहुने अवस्थामा धकेलिनेछन् । तर, मेट अफिस हाड्ली सेन्टरका निर्देशक प्राध्यापक अल्बर्ट क्लेइनले यो अध्ययनले खराब प्रभाव पार्ने स्थानहरूको प्रक्षेपण गरेपनि यूके र यूरोपसहित पूरै विश्व जलवायु परिवर्तनबाट प्रभावित हुने बताए ।

वैज्ञानिकहरूले केही वर्षदेखि ताप र आद्रताको घातक तहको बारेमा चेतावनी दिँदै आएका छन् । सन् २०१५ को एक अध्ययनले यदि जलवायु परिवर्तन अनियन्त्रित भए विश्वको तेल उद्योगको गढ खाडी र मध्यपूर्वको स्थिति लुबाट मानव जीवनको सीमाभन्दा बाहिर पुग्ने गरी ग्रसित हुने देखाएको थियो ।

सन् २०१८ को एक अध्ययनानुसार विश्वकै सबैभन्दा बढी जनघनत्व भएका क्षेत्रहरूमध्ये एक र विशाल देशको खाद्यान्न उत्पादन हुने सबैभन्दा महत्त्वपूर्ण उत्तर चीनको समतल भूमि भविष्यमा अत्यधिक लुको लागि यस ग्रहको सबैभन्दा घातक स्थान हुनेछ । द गार्जियनबाट ।

Author:



क्याटोगरी छान्‍नुहोस