कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना आजदेखि हुँदै

जनकपुर, २९ मंसिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन भएको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो ।

निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो ।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस