भगवती लेमिनेट्स राजस्व छली प्रकरण : अपराधबाट उम्कन शक्तिकेन्द्रमा दौडधुप

काठमाडौं, ९ फागुन। २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ ।

छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालयले ढेड साताअघि नै सबै सञ्चालकसँग विवरण माग गरे पनि हालसम्म उनीहरूले कुनै विवरण बुझाएका छैनन् ।

विवरण बुझाउनुको साटो केही सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रकहाँ धाइरहेको बुझिएको छ । केही समय अघि मात्रै राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिका सातै जना सञ्चालकलाई बयानका लागि बोलाए पनि तीन जनाले मात्रै बयान दिएका थिए ।

सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवाल बयानका लागि गएका थिए भने बाँकी सञ्चालक निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्र अग्रवाल र बेनित अग्रवाल हालसम्म पनि बयानका लागि गएका छैनन् ।

स्रोतका अनुसार भगवती लेमिनेट्सका सञ्चालकमाथि राजस्व छलीमा मुद्दा दायर हुने धेरै प्रमाण भेटिन थालेपछि उनीहरू त्यसबाट उम्कन विभिन्न राजनीतिक दलका नेताहरू र उच्च सरकारी अधिकारीलाई भेटेर प्रभाव पार्ने कोसिस गरिरहेका छन् ।

‘राजस्व छलीमा मुद्दा दायर हुने धेरै प्रमाण भेटिन थालेपछि केही सञ्चालक त्यसबाट बच्न आवश्यक राजनीतिक लबिङ गर्न राजधानी आएर दौडधुपलाई तीव्रता दिएका छन्,’ स्रोतले भन्यो ।

राजस्व अनुसन्धान विभागले भने अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभावले काम नगर्ने स्पष्ट पारेको छ । ‘राजस्व छलीका प्रमाण केलाइरहेका छौं, छिट्टै कानुनी कारबाहीमा जान्छौं,’ विभाग स्रोतले भन्यो । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780