मुस्लिमलाई हिन्दु बनाई नागरिकता प्रकरण : कारबाही गर्न गृहद्वारा पत्राचार

राजविराज – आर्थिक प्रलोभनमा परेर मुस्लिम धर्मकी महिलालाई हिन्दु बनाई नागरिकता जारी भएको विषयमा गृह मन्त्रालयले चासो लिएको छ । मन्त्रालयले संलग्नलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका एक जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी मिलेर नक्कली आमाबुवा खडा गरी नागरिकता जारी गरेको पाइएको थियो । गत साउन १२ गते १६–०१–७९–०४३७५ नम्वरको नागरिकता भइसकेपछि बुवा (नागरिकताअनुसार) छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका बिरेन्द्र सुतिहारले पैसाको बाँडफाँड नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएका थिए ।

श्रोतकाअनुसार वडाध्यक्ष सिकेन्द्रकुमार साहले सुझाएअनुसार आमा (नागरिकता अनुसार) सुशिलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नाममा वडा कार्यालयबाट नागरिकता सिफारिस लिइन । सो सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगेकी सुशिलाले सोही कार्यालयका कार्यालय सहयोगी देवु यादवसँगै नागरिकता फाँटमा पुगेकी थिएन ।

‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ सुरु गरे तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान रहेको भनेपछि नागरिकता जारी भयो’ श्रोतले भन्यो, ‘जिल्ला प्रशासन कार्यालयमा सघाउनका लागि देवुले मात्रै सोनीसँग ३० हजार रुपैयाँ लिएको रैंछ, थप अन्य कर्मचारीले पनि मोटो रकम लिएकै हो ।’

नागरिकता जारी भइसकेपछि बुवा र आमा भनिएका बिरेन्द्र र सुशिलाबीच सोनीसँग लिइएको पैसाको बाँडफाँड गर्ने विषयमा खटपट सुरु भयो । बिरेन्द्रले सुशिलासँग दोस्रो विवाह गरेका छन् भने हाल दुवै जना अलग–अलग नै बस्ने गर्छन् । बाँडफाँड नमिलेपछि बिरेन्द्रले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको श्रोतले बतायो । यद्यपी, बिरेन्द्रले सो विषयमा बोल्न भने चाहेन । ‘सोनीसँग सुशिलाले पनि मोटो रकम लिएकी रैंछ, वडा कार्यालयमा सिफारिसदेखि जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी र कार्यालय सहयोगी देवुसम्मले रकम लिएरै काम गर्न गराउनमा सघाएका हुन्’ श्रोतले भन्यो ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन आइसकेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिफारिस गर्ने वडाध्यक्ष साह र वडा सचिव, विरेन्द्र, सुशिला र सोनीलाई झिकाएर सो नागरिकता जफत गरेका थिए । यद्यपी, नागरिकता फाँटका प्रशासकीय अधिकृत शिशिरको ठाउँमा राजु शर्मालाई हेरफेर गर्ने बाहेक अहिलेसम्म अन्य कसैलाई पनि कारबाही भएको छैन् । हाल प्रकासकीय अधिकृत शिशिर र राजुको सरुवा भइसकेको छ भने जिल्ला प्रशासन कार्यालयले नागरिकता रद्द गरी सो प्रकरणमा मुछिएका नक्कली आमाबुवा, नागरिकता लिएकी महिला, जनप्रतिनिधि लगायतकाले तारेख लिइरहेका छन् ।

अख्तियारले पनि छानबिन गर्दै

सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले पनि जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको विवरण झिकाएर छानबिन गरिरहेको छ । ‘सो नागरिकताबारे आयोगमा पनि उजुरी आइसकेपछि हामीले विवरण माग झिकाएर छानबिन गरिरहेका छौं’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीका सूचना अधिकारी निरजकुमार देवले भने ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कारबाहीका लागि गृह मन्त्रालयबाट पत्र आएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरिसकेकोले कारबाही गर्न समस्या भएको बताए । ‘हामीले नागरिकता रद्द गरी कारबाही गर्ने प्रक्रियामै थियौं तर नागरिकता लिने बेला पैसाको लेनदेन भएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले छानबिन गरिरहेको छ’ उनले भने, ‘छानबिनपछि आयोगले कारबाहीतर्फ अघि बढ्छ नै ।’

उता, वडाध्यक्ष साह र जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी यादवले पैसा लिएको कुरा अस्वीकार गर्दै आएका छन् । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस