राजविराज — मिटरब्याजीको आरोपमा सोमबार जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा ‘सुरेन्द्र मधेशी’ पक्राउ परेका छन् ।
सप्तरी प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका–७ निवासी हाल राजविराज–७ स्थित घरबाटै पक्राउ गरेको हो । शर्मामाथि ईलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार जिल्लाको बोदेवरसाइन नगरपालिका १० का निर्मलकुमार यादवले जाहेरी दिएका थिए । जाहेरीकर्ता निर्मलका बुबा शंकर यादवले पक्राउ गरिएका सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग २०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
ऋण लिँदा शंकर यादवले सत्यनारायण शर्मालाई आफ्नो स्वामित्वको शम्भुनाथ नगरपालिका–७ स्थित ८ बिघा ७ कट्ठा ७ धुर जग्गा लिखत पास गरिदिएका थिए । सत्यनारायणले आफ्नो नाममा लिखत पास भइ आएको जग्गा छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिएका थिए ।
ऋणीले पूरै ऋण चुक्ता गर्दा पनि सुरेन्द्रले जग्गा फिर्ता गर्न नमानेपछि प्रहरीमा जाहेरी परेको हो । पक्राउ परेका शर्मालाई म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी थालेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।