एनआईसी एसिया बैंकमा ‘स्क्याम’ प्रकरण : पक्राउ पुर्जी जारी भए पनि समातिएनन् आरोपित

राजविराज, ९ जेठ । एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा पक्राउ पुर्जी जारी भएको तीन साता वितिसक्दा समेत आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् ।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको सरकारी कागजात किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता बैंकर्ससहित एक दर्जन व्यक्ति विरुद्ध जारी भएको थियो । तर, प्रहरीले अझैंसम्म आरोपितलाई नियन्त्रणमा लिन सकेको छैन् ।

‘पक्राउ पुर्जी जारी भएसँगै उनीहरुको खोजी कार्य भइरहेको छ’, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले भने । गत माघ २२ गते सो बैंकले सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरेको २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको खुलासा भएको थियो ।

श्रोतकाअनुसार बैंकका प्रबन्धक संतोशकुमार यादवले बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटरसँग मिलेर राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी खडा गरेका थिए ।

सोही जग्गा धनी प्रमाण–पत्रको आधारमा बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो भने गत माघ ९ गते घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई सो ऋण प्रवाह गरेको थियो ।

‘स्क्याम’ सँगै बैंकका प्रबन्धक यादवसहितका कर्मचारीहरु निलम्बित छन् भने आरोपीहरु व्यवसायी मो.समसाद, सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दिपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मा र व्यवसायी शंकर यादव फरार छन् भने फर्जी जग्गाधनि वसिरन र ऋणी उनकै बुहारी आसमा र छोरा मो.सदाम पनि सम्पर्कमा आउन चाहेका छैनन् । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस