राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गाउँपालिकाका अध्यक्ष यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटरविरेन्द्र कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
गत साउन ३१ गते आयोगस्थित इटहरी कार्यालयको टोलीले सोलार बत्ती जडान भएको योजनाको रकम भुक्तानीका क्रममा घुसबापत २लाख नगद र ३ लाख रुपैयाँको चेकसहित लिएको आरोपमा लेखापाल र एमआईएस अपरेटर पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा सो प्रकरणमा गाउँपालिका अध्यक्ष यादवको पनि मिलोमतो देखिएकाले तीनै जना उपर विशेष अदालतमाभ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
यसअघि अनुसन्धानकालागि गाउँपालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिएपछि उनी पदबाट निलम्बित भएका थिए ।