काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्पबाट पीडित भएकाहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्याउन पार्टीका संघीय सांसद तथा प्रदेशसभा सदस्यहरुको एक महिनाको तलब र पार्टीकोतर्फबाट गरी २५ लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्त मोहन श्रेष्ठले जानकारी दिए ।
भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राप्रपाले भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको राप्रपाले ध्यानाकर्षण गराएको छ ।