जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले असोज ३० गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसम्बन्धी पत्र प्राप्त भएको जनाएको छ । एमालेले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष समर्थन फिर्तासम्बन्धी पत्र पठाएको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा एमालेले समर्थन फिर्ता लिने निर्णयसहितको पत्र प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष प्राप्त भएको जानकारी गराइएको छ ।
यसअघि एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाइसकेका थिए । राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास तत्मा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् ।
चार मन्त्रीको राजीनामापछि एमालेले औपचारिक रूपमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आएको छ । एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको राजनीतिक आधार र आगामी सत्ता समीकरणबारे नयाँ बहस सुरु भएको छ ।