नेहा बोरा : रंगमञ्चबाट सडक आन्दोलनसम्मको यात्रा

नेहा बोरा अहिले भारतको विद्यार्थी तथा युवा आन्दोलनमा चर्चामा आएकी २९ वर्षीया विद्यार्थी नेतृ हुन् । उनी वामपन्थी विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष हुन् । पछिल्लो समय निर्वाचन प्रणाली, शिक्षा, बेरोजगारी तथा परीक्षा अनियमिततासम्बन्धी आन्दोलनमा सक्रिय भएपछि उनको राष्ट्रिय चर्चा चुलिएको हो ।

उत्तराखण्डको खटीमामा हुर्किएकी बोरा सानैदेखि विभिन्न ठाउँमा बस्दै हुर्किइन् । उनका बुबा भारतीय सेनामा कार्यरत भएकाले उनको बाल्यकाल विभिन्न स्थानमा बितेको बताइएको छ । उनले दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा समाजशास्त्र अध्ययन गरेकी छन् । त्यसपछि उनले डा. बी.आर. अम्बेडकर विश्वविद्यालय दिल्लीमा उच्च शिक्षा लिइन् र जवाहरलाल नेहरू विश्वविद्यालय (व्ल्ग्) मा थिएटर तथा प्रदर्शन अध्ययनसम्बन्धी शोधकार्य गरेकी छन् । तर राजनीतिमा उनको प्रवेश भने अचानक भएको थिएन ।

विश्वविद्यालयमा अध्ययनका क्रममा उनी रंगमञ्चसँग जोडिइन् । थिएटरले आफूभन्दा फरक विचार र जीवन भोगेका मानिसलाई बुझ्न सिकाएको उनी बताउँछिन् । यही अनुभवले पछि उनको सामाजिक तथा राजनीतिक सक्रियतालाई पनि प्रभाव पारेको देखिन्छ ।

सन् २०१९–२०२० को नागरिकता कानुनविरुद्धको विद्यार्थी आन्दोलन उनको राजनीतिक यात्राको महत्वपूर्ण मोड बन्यो । त्यसपछि उनी विद्यार्थी अधिकार र सार्वजनिक सरोकारका मुद्दामा सक्रिय हुँदै गइन् । पछिल्लो समय परीक्षा प्रश्नपत्र चुहावट, बेरोजगारी, शिक्षा नीति तथा परीक्षाको केन्द्रीकरण विरुद्धका आन्दोलनमा उनको उपस्थिति देखिँदै आएको छ ।

२०२६ मा दिल्लीको जन्तरमन्तर केन्द्रित विद्यार्थी तथा युवा आन्दोलनमा उनी अझ चर्चित बनिन् । शिक्षा तथा रोजगारीका मुद्दामा भएको आन्दोलनका क्रममा उनले लामो विरोध प्रदर्शनमा समेत सहभागिता जनाइन् । झारखण्डमा भएको विद्यार्थी आन्दोलनमा उनीमाथि मसीसमेत फ्याँकिएको उल्लेख छ ।

पछिल्लो समय भने निर्वाचन आयोग र मतदाता सूचीसम्बन्धी आरोपलाई लिएर भएको आन्दोलनका कारण उनी राष्ट्रिय चर्चाको केन्द्रमा आइन् । प्रदर्शनका क्रममा दिल्ली प्रहरीले उनलाई हिरासतमा समेत लिएको थियो । हिरासतबाट बाहिर आएपछि पनि उनले आन्दोलन जारी राख्न समर्थकहरूलाई आह्वान गरेकी थिइन्। निर्वाचनसम्बन्धी आरोपहरू भने निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

उनको अर्को विशेषता हो—शान्त शैलीमा बोल्ने तर मञ्चमा प्रभावशाली भाषण गर्ने क्षमता । हिन्दी र अंग्रेजी दुवै भाषामा बोल्ने बोरा विद्यार्थीका समस्या र व्यापक सामाजिक–राजनीतिक प्रश्नलाई जोडेर प्रस्तुत गर्ने गर्छिन् ।

अक्टोबर २०२६ मा विपक्षी दलहरूको सर्वोच्च अदालततर्फको मार्चमा राहुल गान्धीसँगै देखिएपछि उनको चर्चा सामाजिक सञ्जालमा झनै बढेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस