राजविराज, ८ भदौ–युवा पत्रकार रामशंकर भण्डारी प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् । प्रेस मञ्च नेपाल, सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको एक समारोहका बीच पत्रकार भण्डारीले प्रेस मञ्चमा प्रवेश गरेका हुन् ।
मञ्चका जिल्ला अध्यक्ष भूषणकुमार सिंहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रेस मञ्च नेपालका महासचिव अवधेशकुमार झाले टीका र गम्छा ओढाएर स्वागत गर्दै उनलाई संगठनमा प्रवेश गराएका छन् ।
संगठनमा प्रवेश गराउंँदै महासचिव झाले पत्रकार भण्डारीलाई उचित जिम्मेवारीकासाथ रोजगारमुलक संचार माध्यममा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नवप्रवेशी पत्रकार भण्डारीले यसअघि स्वघोषणा–पत्र जारी गर्दै प्रेस मञ्च नेपाल पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षामा प्रतिबद्ध रहेकोले मञ्च प्रवेश गरेको बताएका थिए ।
उनले पछिल्लो समयमा सप्तरीका पत्रकारहरु दुई धारमा देखिँदा प्रेस मञ्चले प्रेस स्वतन्त्रता तथा पत्रकारहरुको सुरक्षाका सवालमा अडिग देखिएकोले प्रेस मञ्च नेपालमा प्रवेश गरेको बताए । प्रेस मञ्च नेपाल, सप्तरीका सचिव विद्यानन्द रामले सञ्चालन गरेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य चन्दनकुमार यादवले नवप्रवेशी पत्रकार भण्डारीलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, प्रेस मञ्च जिल्ला कार्यसमितिका उपाध्यक्ष जितेन्द्र कुमार झा, सहसचिव धर्मपाल राउत, कोषाध्यक्ष प्रवेश मिश्र लगायतका उपस्थित थिए । जिल्लाको बलान बिहुल गाउँपालिकास्थित बेल्ही निवासी युवा पत्रकार भण्डारी मधेशलाइभ डटकम अनलाइनका समाचार संयोजक हुन् ।