राजविराज । उद्घाटन भए पनि सञ्चालनमा आउन नसकेको राजविराज बसपार्क अन्ततः शनिवारै(आज)देखि औपचारिक रूपमा निर्णय गरी कार्यान्वयन हुने भएको छ ।
राजविराज–२ स्थित बसपार्क प्राङ्गणमा शुक्रबार कावा नगरप्रमुख ईसरत परविनको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकले उक्त विषयमा निर्णय गरेको हो । बैठकले राजविराज नगरपालिकाले तयार पारेको बसपार्क सञ्चालन कार्यविधि अनुसार अब सम्पूर्ण सार्वजनिक सवारी साधनहरू बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चेतावनी दिँदै भनेको छ— यदि कुनै सवारी साधनले बसपार्कबाहिरबाट यात्रु चढाउने वा झार्ने कार्य गर्याे भने कार्यविधिअनुसार तुरुन्त कारबाही गरिनेछ ।
बसपार्कमा सवारी साधनहरूको आगमन र प्रस्थान (इन–आउट)का लागि व्यवस्थित रुटहरू पनि सर्वसम्मत रूपमा बैठकले निर्धारण गरेको छ । यातायात व्यवसायी विजय गुप्ताका अनुसार सरोकारवाला सबै पक्षको सहमतिमा तय गरिएका ती रुटहरू शनिबारदेखि नै लागू गरिनेछ ।
रूपनीतर्फबाट आउने गाडीहरू मलेठ चौक–नहर–पडरिया–चुरामिल–गुलाब ग्यारेज–राजदेवी हुँदै बसपार्कमा प्रवेश गर्नेछन् । कंचनपुर र फतेपुरतर्फबाट आउने गाडीहरू सिधै गुलाब ग्यारेज हुँदै बसपार्क आउनेछन्। त्यस्तै, हनुमाननगर, सिरहा रोड र कुनौली सडकखण्डबाट आउने गाडीहरू तेतरीगाछी हुँदै बसपार्क प्रवेश गर्ने व्यवस्था गरिएको बैठकमा सहभागी पत्रकार चन्दन यादवले जानकारी दिएका छन् ।
बसपार्कबाट बाहिरिने सवारी साधनहरूको रुट पनि व्यवस्थित बनाइएको छ । रूपनी जाने गाडीहरू गुलाब ग्यारेज–हनुमान मन्दिर हुँदै रूपनी जानेछन्, हुलाकी सडक पूर्वतर्फका गाडीहरू गुलाब ग्यारेज हुँदै जानेछन्, हनुमाननगर जाने गाडीहरू राजदेवी स्कुल–झल्ही नहर मार्ग प्रयोग गर्नेछन् । त्यसैगरी, कुनौली तथा सिरहा सडकखण्डतर्फ जाने गाडीहरू तेतरीगाछी मार्ग हुँदै जानेछन् भने सखडा तर्फ जाने गाडीहरू अरुण इँटा भट्टा मार्ग हुँदै सञ्चालन हुनेछन्। पश्चिम सिरहा रोडका गाडीहरू गुलाब ग्यारेज–हनुमान मन्दिर–मदननगर–खर्साल हुँदै सञ्चालन हुनेछन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरीक्षक गौतम कुमार केसी, यातायात व्यवसायी संघका अध्यक्ष दिनेश गुप्ता, व्यवसायी विजय गुप्ता, पत्रकार चन्दनकुमार यादव, सुरक्षा निकायका प्रतिनिधि, जेनसी प्रतिनिधि र स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
गणतन्त्र त्यसै आएको होइन । Pic. Social Media