मधेश सहित देशैभरी मनाइदैछ छठ पर्व

राजविराज । विगतका वर्षहरु झैं यो वर्ष पनि मधेशसहित देशैभरी विशेष श्रद्धाभक्तिका साथ छठ पर्व मनाइदैछ ।

सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउन लागिएको हो । मङ्गलबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा यो पर्व सम्पन्न हुनेछ । गाउँका पोखरीहरुमा केराको बोट, अशोकको हाँगा, बाँसलगायतका स्थानीय सामग्रीहरुबाट कलात्मक घाट बनाएर छठ पर्व मनाइदैछ । उक्त अवसरमा गाउँहरुमा नाच–तमासा, नाटक, छोक्कडबाजी आदी मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको छ ।

कात्तिक शुक्लपक्षको चौथी तिथिबाट नहाइ–खायबाट शुरु भई सोमबार साँझ अस्ताउँदो सूर्य तथा मङ्गलबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व विधिवत रुपमा यो पर्व मनाउन लागिएको हो । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई अरबा–अरबाइन वा नहाइ खाइ भन्ने गरिएको छ । यो दिनमा ब्रतालुहरुले खोला–नाला, नदी, पोखरी, तलाव लगायत जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । ब्रतालुले भोजनमा माछा–मासु, लसुन, प्याज र कोदो जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्ने गरिन्छ ।

पञ्चमी तिथिको दोश्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन ब्रतालुहरु दिनभरि निर्जला ब्रत बस्ने गर्छन् र साँझ पख नुहाएर चोखो भई पूजा कोठामा नयाँ चुल्होमा प्रसादको रुपमा सख्खर मिलाएर खीर बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र खीरलाई लिईन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर ब्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई प्रसादको रुपमा ग्रहण गर्छन् । यो दिन पछि ब्रतालुले पूर्ण ब्रत लिईनुपर्ने परम्परा रहँदैआएको छ ।

षष्ठी अर्थात तेश्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट विभिन्न गुलियो खाद्य साम्रगी बनाईन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले निक्कै सतर्कता अपनाउने गरिएको उनले बताए ।

छठी मातालाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, पेरुकिया, भोगटे, नरिवल, केरा, मुला, सुथनी, ऊखुलगायतका सामग्रीहरु चढाइन्छ । यो पर्व सन्तानको सुख समृद्धि तथा रोग व्याधीबाट बच्नकालागि गरिने परम्परा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस